उपलब्धी सार्वजनीकरण गर्दै सम्पन्न भयो सिवाईसीको २१ दिने अभियान

कुश्मा (पर्वत) । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङले “सबै जुटौं, सदस्य भेटौं” भन्ने मूल नारासहित सञ्चालन गरेको २१ दिने अभियान कुश्मा बजारमा आयोजित कार्यक्रममार्फत उपलब्धी सार्वजनिक गर्दै सम्पन्न गरेको छ ।

२०८२ बैशाख २३ गतेबाट सुरु भएको यो अभियान २०८२ जेठ १३ गते औपचारिक रूपमा सम्पन्न भएको हो । आज सम्पन्न उपलब्धी सार्वजनीकरण कार्यक्रम वित्तीय तथा प्रविधि सचेतना र्‍याली सहित कुश्मा बजार परिक्रम गरेर सुरुवात गरिएको थियो ।

संस्थाका समिति, उपसमिति, कार्यदल, गाउँटोल समन्वय उपसमिति, कर्मचारी र सेयर सदस्य गरी ४ सय भन्दा बढीको उपस्थितीमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले २१ दिने अभियानका क्रममा संस्थाले हाँसिल गरेका प्रमुख उपलब्धीहरू सार्वजनिक गरे । उनका अनुसार, अभियान अवधिमा संस्थाले ३५९ जना नयाँ शेयर सदस्यहरू थप गरेको छ भने बाल बचतकर्ता संख्या पनि २३९ ले वृद्धि भएको छ । यसै अवधिमा सेयर पुँजीमा ११ लाख ४७ हजार ३ सय रुपैयाँ र बचतमा १ करोड १६ लाख ९४ हजार १ सय ७ रुपैयाँको वृद्धि भएको छ । साथै, ऋण लगानीतर्फ ४ करोड ४२ लाख १७ हजार ६ सय ५० रुपैयाँले वृद्धि भएको जनाइएको छ ।

निश्क्रिय सदस्यहरूलाई पुनः सक्रिय बनाउने अभियान अन्तर्गत २९९ जना सदस्यलाई सक्रिय बनाइएको छ भने ४४९ जना भुक्तान नदिएका ऋणी सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी ऋण असुली प्रक्रिया अगाडि बढाइएको छ । डिजिटल सेवा पहुँच विस्तारको क्रममा ३५० जना सदस्यहरूलाई मोबाइल तथा डिजिटल सेवामा समावेश गराइएको छ ।

साथै, वित्तीय साक्षरता अभिवृद्धिका लागि समुदायस्तरमा ३८ वटा कार्यक्रम सञ्चालन गरिएका थिए, जसबाट १,३६० जना सहभागी लाभान्वित भएका छन् । यस्तै, विद्यालयस्तरमा १७ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भई १,२१३ जना विद्यार्थीलाई वित्तीय साक्षरता दिइएको छ ।

संस्थाले अभियान अन्तर्गत ९२ वटा गाउँ/टोल समन्वय समिति गठन गर्नुका साथै ६,९०० जना सदस्य तथा गैर–सदस्यहरूसँग घरमै पुगेर प्रत्यक्ष सम्पर्क कायम गरेको छ । साथै, सम्भावित जोखिम व्यवस्थापनका लागि २५ वटा विपद् व्यवस्थापन कार्यदल पनि गठन गरिएको छ ।

अध्यक्ष पौडेलले अभियानको समग्र उद्देश्य सहकारी सेवा विस्तार, सदस्यसँगको प्रत्यक्ष सम्बन्ध सुदृढीकरण, वित्तीय पहुँचमा वृद्धि, विद्यार्थि तथा युवाहरुमा वित्तीय र प्रविधि सशक्तीकरण भएको उल्लेख गरे ।

२०६७ सालमा बागलुङ बजारमा स्थापना भएको सिवाईसी साकोसले हाल धवलागिरी क्षेत्रका बागलुङ, पर्वत र म्याग्दीमा २५ वटा सदस्य सेवाकेन्द्र मार्फत वित्तयि तथा गैर वित्तीय सेवाहरु सञ्चालन गरिरहेको छ । संस्थामा २६ हजार ८ सय ५८ सेयर सदस्य, ६ हजार ४ सय ६७ बाल बचतकर्ता, ३९ करोड ४२ लाख सेयर पुँजी, २० करोड ४३ लाग संस्थागत कोष, १ अर्व ५५ करोड बचत, १ अर्व ३६ करोड लगानी, १०५ जना कर्मचारी र २ अर्व ३४ करोडको कुल सम्पत्ती रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले जानकारी दिए ।

कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्वतका सचिव शिव शर्मा, सिवाईसी साकोसका उपाध्यक्ष सीता सापकोटा, ब्रहमकुमारी ईश्वरीय विश्व विद्यालय कुश्माका राधिका दिदि, गुप्तेश्वर सदस्य सेवाकेन्द्रका परामर्शदाता माधवप्रसाद पौडेल, पञ्चकोसी सदस्य सेवाकेन्द्रका संयोजक मिना के.सी. लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम गुप्तेश्वर सदस्य सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति कुश्मा पर्वतका संयोजक किशोर भण्डारीको अध्यक्षता सदस्य चन्द्रकला लम्सालको स्वागत र संस्थाका शिक्षा उपसमिति सदस्य विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१