दलित बस्तीको बाटो बन्द गरी मन्दिरमा पर्खाल

काठमाडौं। सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–४, थलहा कटाहा स्थित दुर्गा मन्दिरको पर्खाल निर्माणका कारण नजिकैको दलित बस्तीका केही घरहरूको बाटो अवरुद्ध हुने स्थिति सिर्जना भएको छ।

मधेस प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको पर्यटन विकास कार्यालय लहानबाट छुट्याइएको ५० लाख ६० हजार ४ सय ५५ रुपैयाँ बजेटमा दुर्गा मन्दिरको पर्खाल निर्माण भइरहेको हो। पर्खाल निर्माणसँगै पश्चिमपट्टि रहेका महरा समुदायका १० घरमध्ये ६ घर परिवारको सिधा मूल सडकमा जाने बाटो बन्द भएको स्थानीयहरूले गुनासो गरेका छन्।

स्थानीय राम एकवाल महराका अनुसार, मन्दिरतर्फबाट ६ फिट मात्र खाली राखेर पर्खाल उठाइँदा गाउँको मुख्य सडकतर्फ निस्किने बाटो पूर्ण रूपमा बन्द भएको हो। “हामीलाई न सूचित गरियो, न त विकल्प दिइयो। मर्दा पर्दा एम्बुलेन्स छिर्ने वा लास निकाल्ने बाटो पनि रोकिएको छ,” उनले दुखेसो पोखे।

स्थानीय कविता महराले कुनै पूर्वसूचना बिना डोजर लिएर आएर काम थालिएको बताइन्। “महिला प्रहरी ल्याएर हामीलाई रोके, हामीले धेरै विन्ती गर्‍यौँ, तर कसैले नसुनेको पीडा छ,” उनले भनिन्।

तर, पूर्व गाविस अध्यक्ष तथा स्थानीय भोगेन्द्र साहले भने मन्दिरको संरक्षणका लागि पर्खाल लगाइएको र फोहोरजन्य गतिविधि न्युनिकरण गर्ने उद्देश्य रहेको बताए। उनले समाजकै छलफलबाट बाटो छाडिएको दाबी गरे।

वडाध्यक्ष रामबाबु यादवले मन्दिरको तर्फबाट ६ फिट जग्गा छाडेर १२ फिटको बाटो निर्माणको योजना अनुसार पर्खाल बनाइएको बताए। तथापि, मन्दिरको उत्तर–पश्चिम छेउमा समस्या रहेको स्वीकार गर्दै उनले भने, “गाउँ ब्लकको जग्गा र मन्दिरको ७ मिटर जग्गा छुटेको भन्ने सूचना नापी कार्यालयबाट आएको छ। समस्या समाधानका लागि तत्काल छलफल गर्छौँ।”

मधेस क्षेत्रमा प्रचलित ‘गाउँ ब्लक’ को जग्गा भोगचलन गर्ने व्यक्तिकै स्वामित्वमा हुने परम्परा अनुसार, यो जग्गा स्वामित्वको विवाद अझ जटिल बन्न सक्ने देखिन्छ। चमार समुदायका ६ घरपरिवार आफ्नो पुर्ख्यौली ३ कठ्ठा जमिनमा दैनिकी बिताउँदै आएका छन्। उनीहरू ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्छन्।

दुर्गा मन्दिरको कम्पाउन्ड वाल तथा गेट निर्माण कार्य हाल वीरेन्द्र यादवको अध्यक्षतामा रहेको उपभोक्ता समितिबाट भइरहेको छ। तर, मन्दिर परिसर, पोखरी, सामुदायिक विद्यालय र वडा कार्यालय रहेको क्षेत्रमा कुन क्षेत्र कुन प्रकृतिको सरकारी जमिन हो भन्ने स्पष्टता स्थानीय तहमै छैन।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१