
आईपीएल इतिहासमा पहिलो पटक ट्रफी जितेपछि खुसीयाली मनाइरहेकी रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) टिम अहिले गम्भीर विवादमा फसेको छ। २०२५ मे ४ तारिखमा बेंगलुरुमा भएको विजय परेडको क्रममा ठूलो दुर्घटना भएको थियो। अत्याधिक भिडको कारण भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका छन्।
यो घटनापछि अब आरसीबी टिमका स्टार खेलाडी विराट कोहली विरुद्ध समेत कानुनी कारबाहीको प्रक्रिया सुरु भएको छ। सामाजिक अभियन्ता एच.एम. वेंकटेशले विराटविरुद्ध बेंगलुरुको कब्बन पार्क प्रहरी कार्यालयमा उजुरी दिएका छन्। प्रहरीले यस उजुरीलाई पहिले नै दर्ता गरिएको मामला नम्बर १२३।२०२५ अन्तर्गत अनुसन्धान गरिने जनाएको छ।
प्रहरीले एक प्रेस नोट जारी गर्दै विराटविरुद्ध उजुरी दर्ता भएको पुष्टि गरेको छ र छानबिन भइरहेको जानकारी दिएको छ। घटनाबारे विस्तृत अनुसन्धानपछि मात्रै थप निर्णय गरिने पनि प्रहरी स्रोतले बताएको छ।
मुख्यमन्त्रीको भनाइ
कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले घटनामा घाइतेको अवस्था अहिले खतरामुक्त रहेको र उनीहरूको उपचार जारी रहेको बताए। साथै राज्य सरकारले पीडित परिवारलाई आवश्यक सहयोग प्रदान गरिने उल्लेख गरेका छन्।
आरसीबी व्यवस्थापनको सहयोग
आरसीबी व्यवस्थापनले मृतकका परिवारलाई १०।१० लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ। यति ठूलो दुर्घटनाले विजयको खुसीलाई शोकमा परिणत गरिदिएको जनाइएको छ।
यो घटनाले आरसीबी टिम र यसको व्यवस्थापनमाथि ठूलो प्रश्न खडा गरेको छ। विजय उत्सवको क्रममा सुरक्षा व्यवस्थाको कमी तथा अत्याधिक भिड नियन्त्रणमा लिन नसक्दा यस्तो दुर्घटना भएको अनुमान गरिएको छ।