
काठमाडौं । नेकपा एकीकृत (समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आम जनताले लडेर ल्याएको गणतन्त्रको रक्षा पनि उनीहरूले नै गर्ने बताएकी छन्। उनले गणतन्त्र विरोधी शक्तिहरूले जति नै चुनौती खडा गरे पनि समाज अब पछाडि नफर्किने ठोकुवा गरिन्।
विगतको आन्दोलनलाई स्मरण गर्दै उनले भनिन्, ‘हिजो जुन ट्रकका ट्रक म्याजिक चप्पल प्रहरीले भरेर लान्थ्यो, हो तिनै चप्पल लाउने मान्छेहरूले गणतन्त्रका लागि लडेको हो र त्यसको रक्षक पनि तिनीहरू नै हुन्।’ झाँक्रीले यही व्यवस्थाले आम मानिसलाई जात र पेशाको पहिचानभन्दा माथि उठेर नागरिकको सम्मान दिएको बताइन्।
नेता झाँक्रीले समाजको विकास एकरेखीय हुने र यो पछाडि नफर्किने तर्क गरिन्। ‘अहिले जे सामन्तवादमा रैतीहरू, दासहरू बन्नको लागि मान्छे आइरहेका छन्, त्यो दास समाजतिर त समाज फर्किँदै फर्किन्न नि, समाज त एकरेखीय ढंगले अगाडि बढ्छ भने फर्केर आउँछ र ? आउँदैन त।’
उनले राजनीतिक दल र नेताहरूको आचरणमा कमजोरी रहेको स्वीकार गरिन्। ‘हामी एकातिर भयङ्कर गणतन्त्रवादी, समाजवादी र साम्यवादीको गफ गर्छौं, अनि फेरि यहीँ ठ्याक्कै जातको फुर्को ल्याएर लाइहाल्छौं ।’ झाँक्रीले राजनीतिक वृत्तको दोहोरो चरित्रमाथि व्यङ्ग्य गरिन्।
गणतन्त्रका उपलब्धिहरूलाई नजरअन्दाज गर्दै केही भएन भन्ने भाष्य निर्माण गर्नु सबैभन्दा खतरनाक भएको उनको भनाइ थियो। गणतन्त्रले दिएको अधिकारको उदाहरण दिँदै उनले भनिन्, ‘हिजो सीमित मान्छेले मात्र पासपोर्ट बनाउन पाउँथे, तर आज हरेक नेपाली नागरिकले पासपोर्ट बनाएर संसार घुम्ने अधिकार पाएका छन्। यो गणतन्त्रको उपलब्धि हो।’
उनले विगतमा दरबारसँग पहुँच बनाएर विशेषाधिकार पाएकाहरू नै अहिले गणतन्त्रको विरोधमा लागेको आरोप लगाइन्। झाँक्रीले निरन्तरको आत्मभर्त्सना र निराशाको बाटो बन्द गर्नुपर्नेमा जोड दिइन्।