
काठमाडौं । आम जनता पार्टीको उपत्यका विशेष कमिटी र आम सुकुम्बासी संघका पदाधिकारीहरूको संयुक्त बैठकले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी उपलब्ध गराउन माग गर्दै चरणबद्ध संघर्षको घोषणा गरेको छ।
आज सम्पन्न बैठकले बस्तीहरूमा बर्सेनि बढ्दो खानेपानी अभाव र सरकारको निरन्तर बेवास्ताप्रति गम्भीर आपत्ति जनाउँदै अबका दिनमा आन्दोलनलाई संगठित र सशक्त बनाउने निर्णय गरेको हो।
सुकुम्बासी बस्तीका अधिकांश नागरिकले वर्षौंदेखि धाराको लागि लाइन बस्नुपर्ने, निजी ट्यांकरको भर पर्नुपर्ने र अत्यधिक मूल्य तिर्नुपर्ने बाध्यता झेलेका छन्। राज्यको सेवा र स्रोतमा समान पहुँचको माग गर्दै यस्ता बस्तीहरूबाट सरकारलाई पटक–पटक आग्रह गरिए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ।