भिजिट भिसा प्रकरण बारे सुमना– आवश्यक परे इन्टरपोलको समेत सहयोग लिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमाना श्रेष्ठले सरकारले सुशासनको नाममा राजनीतिक प्रतिशोध साधिरहेको आरोप लगाएकी छिन् । उनले आफ्नो पार्टीले उठाएका तीन प्रमुख माग पूरा नभएसम्म संसदको अवरोध जारी रहने स्पष्ट पारेकी हुन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणलाई सामान्य ठान्न नहुने, यो एक संगठित मानव तस्करीको राष्ट्रिय मुद्दा भएको बताइन् । ‘यो कुनै दल विशेषको नभई देशकै मुद्दा हो । हामीले २०६४ सालदेखिकै घटनाको अनुसन्धान गर्न न्यायिक छानबिन समितिको माग गरेका छौं,’ उनले भनिन्, ‘यो मानव तस्करीको जालो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ, आवश्यक परे इन्टरपोलको समेत सहयोग लिनुपर्छ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक पत्र पठाउँदा पनि गृहमन्त्रीले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप लगाइन् । ‘आफ्नै नाकमुनि भ्रष्टाचार हुँदा पनि मन्त्रीले केही नगर्नु कर्तव्यच्युत हुनु हो । त्यसैले हामीले गृहमन्त्रीको राजीनामा मागेका छौं,’ श्रेष्ठले भनिन् ।

त्यस्तै, अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतमाथि चलाएको मुद्दा राजनीतिक अभिष्ट पूरा गर्नका लागि भएको बताएकी छन् । ‘यो सुशासन दिनका लागि होइन, कुन बेला कसलाई ठोक्ने र कसलाई के गर्ने भन्ने हिसाबले गरिएको हो, उनले भनिन्, नेताहरूले गर्न नसकेको नीतिगत निर्णयको परिभाषा अख्तियारले एक हदसम्म गरिदिएको छ, अब अदालतले यसको अन्तिम व्याख्या गर्ला ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१