हमासका गाजा प्रमुख मोहम्मद सिनवारको शव फेला परेको इजरायली सेनाको दाबी

काठमाडौं ।  इजरायली रक्षा बल (आईडीएफ) ले हमासका गाजा प्रमुख मोहम्मद सिनवारको शव फेला परेको दाबी गरेको छ। आईडीएफका अनुसार सिनवारको शव गाजाको दक्षिणी क्षेत्रमा रहेको खान युनिसस्थित युरोपेली अस्पतालको तलको सुरुङबाट बरामद गरिएको हो।

आइतबार जारी गरिएको वक्तव्यमा आईडीएफले शवको पहिचान डीएनए परीक्षणमार्फत गरिएको जनाएको छ। यद्यपि, हमासले सिनवारको मृत्युको विषयमा हालसम्म औपचारिक पुष्टि गरेको छैन।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका अनुसार, मे १३ मा इजरायली हवाई आक्रमणमा ४९ वर्षीय सिनवारको ज्यान गएको थियो। उक्त आक्रमणमा २८ जनाको मृत्यु भएको र अन्य थुप्रै व्यक्ति घाइते भएको बताइएको छ।

आईडीएफका अनुसार, सोही सुरुङमा हमासको रफाह ब्रिगेडका कमान्डर मोहम्मद सबानेहको शव पनि सिनवारको नजिकै फेला परेको छ। साथै, ती दुवैसँग सम्बन्धित विभिन्न वस्तुहरू र गोप्य गुप्तचर सामग्रीहरू पनि बरामद गरिएको जनाइएको छ।

आक्रमणस्थलमा अन्य शवहरू पनि भेटिएको र तीमध्ये केहीको पहिचान प्रक्रिया जारी रहेको आईडीएफले जनाएको छ। यी सबै प्रमाणहरू थप अनुसन्धानका लागि पठाइएको बताइएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१