सिवाईसीले सिगानालाई वतावरणमैत्री नमुना गाउँ बनाउने

बागलुङ । चारतारे युवा क्लब, सिवाईसी नेपालले बागलुङ नगरपालिका–८ अन्तर्गत पर्ने साविक सिगाना गाविसका वडाहरूलाई समेटेर वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बागलुङ नगरपालिका वडा नं. ८ सिगानाको सहकार्य र सिवार्यसी साकोसको समन्वयमा सञ्चालित उक्त कार्यक्रम साविक सिगाना गाविसका वडा नं. १, २ र ३ अन्तर्गतका गडेलबोट, गामा, देउपुजा, ओखरेनी, चीतेपानी र पात्ले क्षेत्रका १४० घरधुरीमा केन्द्रित हुनेछ ।सोमबार वडा कार्यालयमा आयोजित वित्तीय साक्षरता, योजना तर्जुमा तथा परिचयात्मक कार्यक्रमका क्रममा यसबारे जानकारी दिइएको हो । सिवाईसी नेपालले समुदायको समग्र विकास, वातावरण संरक्षण तथा नागरिक सशक्तीकरणलाई मूल आधार मानेर कार्यक्रमको प्रारम्भ गरेको जनाएको छ ।

कार्यक्रममार्फत वातावरण संरक्षण, फोहोर व्यवस्थापन, वित्तीय सशक्तीकरण, हरित प्रविधिको प्रवद्र्धन, सामुदायिक सहभागिता तथा स्थानीय नेतृत्वको विकासमा जोड दिइने संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । पौडेलले कार्यक्रमलाई सफल बनाउनका लागि स्थानीय निकायको सहकार्य र समुदायको सक्रिय सहभागिता आवश्यक हुने समेत बताउनु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष छमवहादुर कार्कीले सिगानालाई वातावरणमैत्री नमुना गाउँको रूपमा स्थापित गर्न कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गरिने र यसको मूल्याङ्कन समेत गरिँदै जाने बताउनु भयो । उहाँले स्थानीय स्तरमै यस्ता वातावरणमैत्री र समुदायमैत्री कार्यक्रमहरू सञ्चालन हुनु सकारात्मक पक्ष भएको बताउदै हाम्रो गाउँको पहिचान निर्माणमा यो कार्यक्रमले सहयोग पुग्ने बताउनु भएको थियो ।कार्यक्रममा सिवाईसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले मन्तव्य राख्नु भएको थियो भने लोक गायक हेमन्त खड्काले मनोरञ्जनात्मक प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रमका क्रममा संस्थाका अध्यक्ष पौडेलले समृद्धिको यात्रा धनी हुने तरीकाका सम्वन्धमा सहजिकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले नमुना गाउँ विकास कार्यक्रमको अवधारण, महत्व, समुदाय, वडा र संस्थाको भूमिका र आगामी कदमबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा समन्वयका लागि “वातावरणमैत्री नमुना गाउँ विकास समन्वय उपसमिति” गठन गरिएको छ ।

गठित उपसमितिको संयोजकमा शोभा क्षेत्री, सह–संयोजकमा उजेली खड्का, सचिवमा जगत जि.सी., तथा सदस्यहरूमा देवी किसान, प्रेमकुमारी खत्री र उपेन्द्र जि.सी. चयन हुनु भएको छ । उपसमितिले कार्यक्रमका विविध पक्षहरूको समन्वय, अनुगमन तथा स्थानीय सहभागिता सुदृढ गर्न क्रियाशील रहने बताइएको छ ।कार्यक्रमका क्रमम सिवाईसी नेपालद्वारा सिगाना माध्यामिक विद्यालय तित्याङमा गठित थ्री जिरो क्लवमा आवद्ध विद्यार्थीहरुलाई पढ्दै कमाउदै कार्यक्रमका लागि विद्यालयका प्रध्यानध्यापक भुपेन्द्र खड्कालाई प्लाष्टिक टनेल हस्तान्तरण गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सिवाईसी साकोस कल्याणकारी सदस्य सेवाकेन्द्रका प्रमुख प्रकाश गौतमको स्वागत र संस्थाका कार्यक्रम अधिकृत क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१