
काठमाडौं। न्यूरोड क्षेत्रबाट प्रहरीले २ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सुन, हिरा तथा पत्थरका गरगहनासहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। विना बिल अवैध रूपमा गरगहना बिक्री भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले बुधबार साँझ गरगहनासहित चार भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाको संयुक्त टोलीले काठमाडौं महानगरपालिका–२२, प्युखास्थित ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ मा छापा मारेको थियो। पसल सञ्चालक भारत, कलकत्ताका ४३ वर्षीय हाविबोर सेखले बिना बिलका बहुमूल्य गरगहना बिक्री गरिरहेको पाइएपछि खानतलासी गरिएको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा प्रहरीले बिल भरपाई नभएका रु. २ करोड १ लाख ७८ हजार ३६० बराबरको सुन, हिरा र पत्थरजडित गरगहना बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा पसल सञ्चालक ४३ वर्षीय हाविबोर सेख, ३९ वर्षीय सूर्यजित दास, ४० वर्षीय तमल साद्रा र १६ वर्षीय समिम सेख रहेका छन्। उनीहरु सबै भारत, कलकत्ताका बासिन्दा हुन् र हाल काठमाडौं–२२ मा बस्दै आएका थिए।
के–के भयो बरामद
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा सुनका गरगहना, विभिन्न क्यारेटका हिरा, पत्थर र अन्य बहुमूल्य सामग्री बरामद गरेको छ। बरामद गरिएका सामग्रीहरूमा ३२८ ग्रामको नेक्लेस, सयौं ग्राम तौलका दर्जनौं लेडिज तथा जेन्स औंठीहरू, लकेट, कानका टप, ब्रासलेट, चुरा, नाकको फुली र टुक्रा सुनलगायत छन्।
यसका साथै, प्रहरीले विभिन्न बैंकका चेक र नगद भौचरहरू, अर्डर स्लिप र अन्य शंकास्पद कागजातहरू समेत बरामद गरेको छ, जसले यो कारोबार संगठित रूपमा सञ्चालन भइरहेको संकेत गर्छ।
पक्राउ परेका चारै जनालाई बरामद गरिएका गरगहना र कागजातसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।