भगवान भण्डारीको ‘अस्वभाविक कलाकारिता’, दुई भाइरल स्टाटस गायब

काठमाडौं । पछिल्ला दिनमा सामाजिक सञ्जाल र केही मिडियामा चर्चाको विषय बनेको हो – सुमना श्रेष्ठ संयोजक बन्ने गरी नयाँ राजनीतिक दल गठनको तयारी।

भाइरल बनाउने व्यक्ति हुन् अमेरिकामा बसोबास गर्दै आएका नेपाली कलाकार भगवान भण्डारी।

कुरा सुरु हुन्छ, भण्डारीले बिहीबार आफ्नो फेसबुकमा लेखेको एक स्टाटसबाट। स्टाटसमा उनले सुमना श्रेष्ठ, बालेन शाह, हर्क साम्पाङ, गोपी हमाललगायत २०–२१ जना मिलेर नयाँ दल गठनको तयारीबारे छलफल भइरहेको उल्लेख गरेका थिए।

उनको उक्त स्टाटसलाई लिएर नेपालमा सामाजिक सञ्जाल तात्न थाल्यो। युट्युब, फेसबुक, अनलाइन मिडियामा ‘सुमना नेतृत्वको नयाँ दल’ चर्चामा आयो। यद्यपि यो चासो र चर्चा धेरैले अनुमानका आधारमा व्याख्या गर्न थाले। सँगै आलोचना र समर्थन दुवै खालका प्रतिक्रियाहरू देखिन थाले।

तर भाइरल बनेको त्यो स्टाटस केही घण्टामै भण्डारीले हटाए। त्यसपछि धेरैले अनुमान गर्न थाले कि उनले गल्तीबश त्यो पोष्ट लेखे कि वा कुनै आन्तरिक दबाबमा उनले हटाए ।

यसैक्रममा, शुक्रबार बिहान भण्डारीले फेरि फेसबुकमा अर्को स्टाटस लेख्दै स्पष्टिकरण दिए। उनले लेखे, ‘कुरा भएकै हो सबै जोडिएकै हो, खोज्न चाहेमा मिडियाले निकाल्न सक्छ। मेरो एउटा मात्र त्रुटी के भयो भने पार्टीको नाम नयाँ राख्ने भन्ने कुरा प्रष्ट भएन।’

उनले आफूले लेखेको स्टाटसमा अस्पष्टता भएको स्वीकार गर्दै माफीसमेत मागेका छन्। साथै उनले स्पष्ट पारेका छन् कि नयाँ पार्टीको घोषणा नभई नाम फेर्ने प्रस्तावमात्र आएको हो। साथै, ‘राष्ट्रमा नै बोल्ने र एकताबद्ध भएर अघि बढ्ने सोच रहेको’ उल्लेख गर्दै हर्क साम्पाङ, गोपी हमाल लगायतका नेताहरूसँग सहकार्यको भावना प्रकट गरेका छन्।

तर यो स्टाटस पनि उनले केही घण्टामै हटाए। यसले झनै उत्सुकता र आशंका बढाएको छ—के साँच्चै नयाँ राजनीतिक शक्ति तयार हुँदैछ ? कि यो केवल सामाजिक सञ्जालको गसिप मात्र हो ?

भगवान भण्डारीको स्टाटसले अहिले सामाजिक सञ्जालमा एउटा बहस उठाएको छ। विशेषगरी वैकल्पिक राजनीति र स्थानीय तहमा उदाएका स्वतन्त्र नेताहरूबीच सहकार्य हुने संकेत के साँच्चै नयाँ राजनीतिक संरचनातर्फ संकेत हो ? भन्ने जिज्ञासा बढेको छ ।

अहिले भगवान भण्डारीको पछिल्लो मौनता र स्टाटस हटाउने क्रमले सबैलाई ‘अलमलमा’ राखेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१