
काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको अवरोध हटाएर संसद् सुचारु गर्न सरकार तथा सभामुखको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत केही दलका सांसदहरूले निरन्तर अवरोध गरिरहे पनि सभामुख र सरकारले जबरजस्ती सदन सञ्चालन गर्न खोजिरहेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आपत्ति जनाएका छन्।
‘सरकार र सभामुखबाट रास्वपा लगायत केही पार्टीका सांसदहरूको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको छ ।’ उनले लेखेका छन्, ‘यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन।’
श्रेष्ठले सबै विपक्षी दललाई विश्वासमा लिएर सहमतिका आधारमा संसद् सञ्चालन गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएका छन्। साथै, संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई छिटो अघि बढाउन उनले जोड दिएका छन्।
राष्ट्रिय सहमति र संवादमार्फत् मात्रै संसद्को मर्यादा कायम रहन सक्ने भएकाले सरकारले हठी प्रवृत्तिलाई परित्याग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।