सागर ढकाल भन्छन्– हजुरबाहरुलाई माफी दिन सकिएला तर हामीलाई नातीनातीनाले माफी दिनेवाला छैनन्

काठमाडौं । इन्जिनियर सागर ढकालले नेपालको दिगो विकासका लागि बलियो र स्थिर नेतृत्वको आवश्यकतामा जोड दिँदै वर्तमान राजनीतिक अवस्था र राष्ट्रिय मानसिकतामाथि प्रश्न उठाएका छन्।

सुशान्त प्रधानको पोडकास्टमा बोल्दै उनले देशले तत्काल पाँच वर्षे स्थिर सरकार सुनिश्चित गर्न नसके भविष्यका पुस्ताले वर्तमान पुस्तालाई कहिल्यै माफ नगर्ने बताएका हुन् ।

ढकालले नेपालमा प्रधानमन्त्रीले ५ वर्षको कार्यकाल पूरा गर्नु नै एउटा ठूलो उपलब्धि मान्नुपर्ने अवस्था ‘लाजमर्दो ’भएको बताए। उनले भने, ‘यदि हामीले कम्तीमा दुई–तिहाइ बहुमतको लक्ष्य राख्यौँ भने सबैभन्दा खराब अवस्थामा पनि ५१ प्रतिशत बहुमत कायम राख्न सकिन्छ, जसले प्रधानमन्त्रीलाई ५ वर्षसम्म टिक्न मद्दत गर्छ।’ उनले राजनीतिक दलभित्रका स–साना गुटले अन्तिम समयमा सरकार ढाल्ने विश्वव्यापी प्रवृत्ति नेपालमा पनि दोहोरिन सक्ने भएकाले बलियो बहुमत आवश्यक रहेको तर्क गरे।

आफ्नो प्रस्तुतिमा ढकालले राजनीतिक अस्थिरताले देशको आर्थिक विकासमा पारेको गहिरो असरबारे पनि प्रकाश पारे। ‘पाँच वर्षको समय निकै लामो हो। जब हामी दशकौँपछिको विकासको कुरा गर्छौँ, यो समय गुमाउँदा त्यसको चक्रवृद्धि असर अर्थतन्त्रमा पर्छ,’ उनले भने।

पोडकास्टमा उनले सबैभन्दा मार्मिक र भावनात्मक तर्क प्रस्तुत गर्दै भने, ‘हामीले ९० को दशकको आर्थिक वृद्धि गुमाउने अहिलेका नेताहरूलाई त माफी दिन सकौँला, तर यदि हामीले यो अवसर गुमायौँ भने हाम्रा नातिनातिनाले हामीलाई कहिल्यै माफ गर्ने छैनन्।’ उनले वर्तमान पुस्तासँग समय निकै कम भएको र अब गल्ती गर्ने कुनै छुट नभएको स्पष्ट पारे।

ढकालले नेपाली समाज एउटा भ्रम मा बाँचिरहेको टिप्पणी गरे। उनले भने, ‘पहिले हामी यो भ्रमबाट बाहिर निस्किनुपर्छ कि नेपाल सबैभन्दा खतरा हो, हामी जे पनि गर्न सक्छौँ। हामी एउटा बलुनमा बाँचिरहेका छौँ। यथार्थमा विश्व राजनीतिमा हाम्रो स्थान कहाँ छ, त्यो हामीले बुझ्नैपर्छ।’ उनले हरेक नीति बनाउँदा आफ्नो नातिनातिनाको भविष्यलाई अगाडि राखेर सोच्नुपर्ने र त्यही अनुसार निर्णय लिनुपर्ने बताए।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१