जुम्लामा भेडापालक किसानलाई १८ हजार गोठालो भत्ता

काठमाडौं।  जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएका छन् ।

भेडापालन प्रवरद्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए।

कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेँडा पालनमा थप व्यवसायमा टेवा पुगेको छ । जिल्लाको सिंजा गाउँपालिका–६ का भेँडापालक किसान भीमबहादुर रावतले भने, “यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु ।

अहिले १०० भन्दाबढी भेडा रहेका छन् । सो रकमले भेँडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेँडापालक किसान रावतको भनाई छ ।”चालु आर्थिक वर्षमा यहाँका २३० जना भेँडा किसानले प्रोत्साहन भत्ता पाएका छन्। कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ।

जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसान छन्। जहाँ ८८ हजार ३८८ भेँडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन्। जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ। सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।

भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेँडा पालक किसान रुञ्ज रावतको भनाई छ। कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागू गरेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१