रास्वपाको उद्देश्य नीतिगत परिवर्तन हो : महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीको मूल उद्देश्य देशको नीतिमा आमूल परिवर्तन गर्नु रहेको बताएका छन्। पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो धारणा राखेका हुन्।

उनका अनुसार पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणमा मात्र चार अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको भन्दै रास्वपाले संसदमा आवाज उठाएको उल्लेख गरे। “मुख नखोल्नेहरूलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने उद्देश्यले हामीले सदनमा स्पष्ट अडान लिएका छौं,” उनले भने।

बुर्लाकोटीले देशमा लुटतन्त्र हावी भएको आरोप लगाउँदै त्यसविरुद्ध सडकदेखि सदनसम्म जनदबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसैले पार्टी स्थापना दिवसकै अवसर पारेर जनतालाई सडकमा उत्रन आह्वान गरिएको उनको भनाइ थियो।

रवि लामिछानेविरुद्ध झूठो मुद्दा लगाइएको आरोप लगाउँदै उनले सत्तासिन शक्तिहरू रविको प्रभावबाट त्रसित भएर षड्यन्त्रपूर्वक कारबाहीको जालो बुनेको दाबी गरे। “पाँच–पाँचवटा अदालत घुमाइयो, सरकार नै लाग्यो, तर डर मान्नु पर्दैन,” भन्दै उनले भ्रष्टाचार अन्त्य र सुसंस्कृत राजनीति प्रवर्द्धन गर्ने संकल्प दोहोर्याए।

उनले २०८४ सालपछि लुटतन्त्र अन्त्य गरी नयाँ राजनीतिक संस्कारको थालनी गर्ने स्पष्ट प्रतिबद्धता जनाए। “हामी ढुक्क छौं, देश बदल्ने हाम्रो बाटो यही हो,” बुर्लाकोटीले भने।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१