सन्दीप र ललितको आईसीसी टी–२०आई वरियतामा उल्लेख्य सुधार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनरहरू सन्दीप लामिछाने र ललित राजवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा उल्लेख्य प्रगति गरेका छन्।

लेग स्पिनर सन्दीप लामिछानेले स्कटल्याण्डमा सम्पन्न टी–२०आई शृंखलामा शानदार प्रदर्शन गर्दै ४१ स्थान उक्लिएर बलिङ वरियतामा ७५औं स्थानमा पुगेका छन्। उनले चार खेलमा ११ विकेट लिएका थिए।

त्यस्तै, बाँया हातका स्पिनर ललित राजवंशीले पनि राम्रो प्रदर्शन गर्दै २९ स्थानको सुधारसहित ५४औं स्थानमा स्थान बनाएका छन्। उनले सो शृंखलामा ४ विकेट हात पारेका थिए।

अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत छन्, भने कुशल भुर्तेलले ब्याटिङमा १० स्थान सुधार गरी ८३औं स्थानमा उक्लिएका छन्। टी–२०आई अलराउन्डर सूचीमा उनले ६ स्थान उक्लिएर ३२औं स्थानमा पुगेका छन्।

नेपाली क्रिकेट टोलीको समग्र वरियतामा भने कुनै परिवर्तन देखिएको छैन। नेपाल टी–२०आई टोली विश्व वरियताको १८औं स्थानमा र एकदिवसीय वरियतामा १७औं स्थानमा यथावत रहेको छ।

एकदिवसीय बलिङ वरियतामा पनि सुधार देखिएको छ। ललित राजवंशी ५ स्थान सुधार गर्दै ४८औं स्थानमा पुगेका छन् भने सन्दीप लामिछाने एक स्थान सुधार गर्दै ५४औं स्थानमा पुगेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१