
नेपाल, भारत र चीनजस्ता दुई विशाल आर्थिक शक्तिको बीचमा अवस्थित छ, र एक उद्यमी एवं निजी क्षेत्रको प्रतिनिधिको रूपमा म दृढतापूर्वक भन्न चाहन्छु कि हाम्रो देशको सबैभन्दा ठूलो सम्भावना पर्यटन नै हो। यो क्षेत्रमा जति अवसर छ, त्यो अन्यत्र कतै छैन। तर, यो अथाह सम्भावनालाई यथार्थमा बदल्न एकीकृत पूर्वाधार विकास र सबैभन्दा महत्त्वपूर्ण, नीतिगत सरलीकरणको तत्काल खाँचो छ।
हामीसँग पर्यटनका लागि आवश्यक सबै कुरा छन्। हिन्दु धर्मावलम्बीहरूका लागि पशुपतिनाथ र मुक्तिनाथ जस्ता आस्थाका केन्द्र छन् भने विश्वभरका बौद्धमार्गीहरूका लागि शान्तिको मुहान लुम्बिनी छ। यति मात्र होइन, संसारको सर्वोच्च शिखर सगरमाथासहितका अग्ला हिमाल र केवल १५० किलोमिटरको दूरीमा अनुभव गर्न सकिने हाम्रो अनुपम मौसमी विविधताले नेपाललाई अद्वितीय बनाएको छ। पर्यटनले कृषि, रोजगारी र विदेशी मुद्रा आर्जनजस्ता बहुआयामिक क्षेत्रमा तत्काल सकारात्मक प्रभाव पार्न सक्छ। यही सम्भावनालाई देखेर हामीले काठमाडौंमा ‘चन्द्रागिरि’ जस्तो एकीकृत पर्यटकीय गन्तव्यको विकास गर्यौं।
अब हाम्रो सोच सातै प्रदेशमा यस्तै पूर्वाधार निर्माण गरेर अहिलेको पर्यटकको औसत बसाइ अवधि १२-१३ दिनबाट बढाएर कम्तीमा २० दिन पुर्याउने हो। म त अब हिन्दु र बौद्ध सर्किटसँगै पूर्वदेखि पश्चिमसम्म एउटा ‘केवलकार सर्किट’ को अवधारणा अघि सार्न चाहन्छु, जसले पूर्वाधार निर्माणमार्फत छोटो समयमै पर्यटकको संख्या दोब्बर बनाउन सक्छ।
एकीकृत विकासको ‘चन्द्रागिरि मोडेल’ र राष्ट्रिय योजना
हामीले काठमाडौंमा चन्द्रागिरिलाई एउटा एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गर्यौं। त्यसको सफलतापछि हामीलाई के लाग्यो भने, यस्तै किसिमका एकीकृत पर्यटकीय गन्तव्य नेपालका सातैवटा प्रदेशमा बनाउन सकियो भने यसले ठूलो परिवर्तन ल्याउन सक्छ।
अहिले नेपाल आउने पर्यटकको औसत बसाइ १२-१३ दिनको छ। यदि हामीले सात प्रदेशमा सातवटा नयाँ गन्तव्य थप्न सक्यौं भने पर्यटकको बसाइ अवधिमा थप ७ देखि १० दिन बढाउन सकिन्छ। यसरी औसत बसाइलाई २० दिन पुर्याउन सकियो भने देशको अर्थतन्त्रमा यसले निकै ठूलो योगदान गर्नेछ।
मलाई त अब के लाग्छ भने, हामीले हिन्दु सर्किट र बुद्ध सर्किटको कुरा गरिरहेका छौं, अब नेपालमा पूर्वदेखि पश्चिमसम्म ‘केवलकार सर्किट’ पनि बनाउन सकिन्छ। यदि हामीले यो पूर्वाधार तयार गर्न सक्यौं भने छोटो समयमै पर्यटकको संख्यालाई सजिलै दोब्बर बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ।
मुख्य बाधा: प्रक्रियागत झन्झट र समन्वयको अभाव
सम्भावना हुँदाहुँदै पनि हामी पछि पर्नुको मुख्य कारण नीतिगत जडता र प्रक्रियागत झन्झट हो। हाम्रो आफ्नै अनुभवले यो कुरा प्रष्ट पार्छ— हामीले भूकम्प र नाकाबन्दीजस्तो कठिन समयमा पनि १८ महिनामा चन्द्रागिरि परियोजना निर्माण सम्पन्न गर्यौं, तर त्यही परियोजनाका लागि सरकारी निकायहरूबाट अनुमति लिन हामीलाई ५ वर्षभन्दा बढी समय लाग्यो। यो अवस्था आज पनि कायमै छ, जसले निजी क्षेत्रलाई निरुत्साहित गर्छ।
समस्या प्रक्रियामा मात्र होइन, सोचमा पनि छ। मन्त्रालय-मन्त्रालयबीच, विभाग-विभागबीच र फरक-फरक सरकारी निकायबीच समन्वयको चरम अभाव छ। हरेक निकायले राष्ट्रिय हितलाई केन्द्रमा राखेर साझा प्रयास गर्नुको सट्टा आफ्नो कामलाई मात्र प्राथमिकता दिने गरेको देखिन्छ। बनेका कानुनहरू पनि सही भावनामा तल्लो तहसम्म कार्यान्वयन हुन सकेका छैनन्, जसले गर्दा कानुन परिवर्तनको कुनै अर्थ रहँदैन। नेपाल वायुसेवा निगमको क्षमता विस्तार गरी हवाई पहुँचलाई सहज बनाउने जस्ता महत्त्वपूर्ण विषयमा समेत हामीले ठोस कदम चाल्न सकेका छैनौं।
अन्त्यमा, म के भन्न चाहन्छु भने, नेपालमा जति अवसर छ, त्यसको सदुपयोग गर्न अब ढिला गर्नु हुँदैन। निजी क्षेत्र काम गर्न तयार छ, हामीले केवल सहज वातावरण खोजेका हौं। यदि सरकारले नीतिगत बाधाहरू फुकाइदिने र प्रक्रियालाई सरल बनाइदिने हो भने एक वर्षभित्रै देखिने गरी परिणाम ल्याउन सकिन्छ। त्यसैले, अबको बाटो भनेको सामूहिक प्रयासबाट नीतिगत बाधाहरूलाई तुरुन्तै हटाएर पर्यटन क्षेत्रको यो अथाह सम्भावनालाई देशको आर्थिक समृद्धिसँग जोड्नु हो।
–हुलाक सञ्चारको चौथो वार्षिकोत्सवमा आयोजित हुलाक पथ ‘नेपालमा पर्यटनः सम्भावनाहरुको नयाँ युग’ विषयको विचार विमर्शमा प्रस्तुत गरेको विचारको सम्पादित अंश