
“हामीले पानीको मोटर अन–अफ गर्ने स्विच बनाउँदा आफूलाई ‘साइन्स’ बुझिन्छ भन्ने अनुभूति भयो।” यही अनुभूति नै मेरो प्रविधिको यात्राको सुरुवात हो।
म काठमाडौँको टंगालमा बस्दा दैनिकजसो पानी तान्ने मोटर अन गर्न, अफ गर्न समस्या थियो। त्यो सामान्य देखिने झन्झट नै हाम्रो टेक उद्यमशीलताको बीउ बन्यो। सायद त्यो समस्याले चुनौती नदिएको भए, हामी यो क्षेत्रतर्फ मोडिने थिएनौं।
हामी नुवाकोटका बासिन्दा, तर राजधानीमा बसोबास सुरु गरेपछि पहिलो समस्या यही मोटर थियो। विज्ञानमा दश कक्षासम्मको अध्ययन थियो, त्यही आधारमा एक साधारण मेकानिकल समाधान बनाएँ। न त इलेक्ट्रोनिक्स थाहा थियो, न प्रविधिको गहिरो ज्ञान। तर एउटा स्वचालित प्रणालीले काम ग¥यो, पानी तानियो, हामी हर्षित भयौं।
कुनै योजना थिएन, तर समाधान खोज्ने जोश थियो
हाम्रो यो यात्रामा कुनै पूर्वयोजना थिएन। कमर्स विषय पढ्दै गरेका हामीले साइन्सको सामान्य ज्ञानबाट समस्याको समाधान गरेपछि लाग्यो—‘यो त गर्न सकिने कुरा रहेछ।’ अनि सुरु भयो प्रयोगको यात्रा। सुरुमा आफ्नै लागि, पछि अरूका लागि।
कमर्स पढेको हुनाले समाधानलाई व्यावसायिक रूप दिन सकेँ। त्यो समाधान आम जनताको समस्या थियो, त्यसैले बजारमा पनि चासो बढ्न थाल्यो। मिडिया आउन थाल्यो। प्रचार भयो। तर प्रचारसँगै अपेक्षा पनि बढ्यो—“तपाईंहरूले त यस्ता समाधान बनाउन सक्नुहुन्छ, उस्ता बनाउन सक्नुहुन्छ!”
अनौपचारिक बाटोबाट सिकाइ
त्यो अपेक्षाले हामीलाई अझै जिम्मेवार बनायो। त्यसपछि सुरू भयो नयाँ विषयहरू सिक्ने क्रम। फर्मल डिग्री थिएन, तर इन्टरनेटको माध्यमबाट इलेक्ट्रोनिक्स, कम्युनिकेसन सिस्टम, प्रोग्रामिङ, इम्बेडेड टेक्नोलोजी आदिको अध्ययन सुरु गर्यौं। अनौपचारिक सिकाइ नै हाम्रो विश्वविद्यालय भयो।
हामीले सिकाइलाई प्रयोगमा उतार्यौं। हाम्रा अधिकांश सिपहरू थ्योरी होइन, स्क्र्याचबाट प्राप्त अनुभव हुन्—हार्डवेयर खोल्नु, हेर्नु, परीक्षण गर्नु, फेरि बनाउनु, चलाएर हेर्नु, फेल हुनु, फेरि सुधार गर्नु। यस्तो अभ्यासबाट हामी केही इनोभेटिभ समाधान निर्माण गर्न सफल भयौं।
पेटेन्टको यात्रामा नेपाली पहिचान
हाम्रा केही उत्पादनहरूमा हामीले पेटेन्ट दर्तासमेत गर्यौं। नेपालमै मात्र नभई, भारतमा पनि केही आविष्कारको पेटेन्ट छ। वाइपो (WIPO) मा अन्तर्राष्ट्रिय स्तरमा PCT (Patent Cooperation Treaty) मार्फत दर्ता गरिएको छ। यसले हामीमा थप आत्मविश्वास जगायो—हामीले बनाएको समाधान अब राष्ट्रिय सीमाभन्दा बाहिर जान सक्छ।
सामाजिक समस्याबाट प्रविधिको समाधान
हामी उच्च प्रविधि (sophisticated tech) निर्माण गर्दैनौं। हाम्रो प्राथमिकता सामान्य जनताको समस्या समाधान गर्ने सुलभ र प्रभावकारी उपाय बनाउनु हो। हामीले निर्माण गरेका प्राविधिक समाधानहरू सरल, युजर-फ्रेन्ड्ली, र मूल्यमा सस्तो छन्।
यसको एक उदाहरण डिजिटल ठेगाना प्रणाली हो। हालै भारतले पनि यसलाई DPI (Digital Public Infrastructure) अन्तर्गत ल्याउने घोषणा गरेको छ। हामीले भने दुई वर्षअघि नै नेपालमा यसको सुरुवात गरिसकेका छौं। हाम्रो टिम अहिले भारतमा पनि यसमाथि काम गरिरहेको छ।
अस्वीकृतिको पीडादेखि निर्वाचन समाधानसम्मको यात्रा
हाम्रो समाधानलाई सुरुवातमा कतिपयले अस्वीकार गरे। “इञ्जिनियरिङ गरेका होइनस्,” भन्नेले प्रोटोटाइप नहेरी रिजेक्ट गरे। तर परीक्षणपछि उनीहरूमै हामीलाई स्वीकार गरे।
त्यही समाधानबाट हामी मतदान प्रणालीमा अटोमेसन ल्याउन सफल भयौं। अहिलेसम्म हाम्रो प्रणालीबाट २५४ वटा निर्वाचन सम्पन्न भइसकेका छन्।
टेक्नोलोजीको मूल सन्देश : समस्या निवारण
हाम्रो टेक्नोलोजीको सार के हो भने—सामाजिक समस्याको समाधान प्रविधिबाट खोज्नु। हामी समस्यालाई जटिल बनाएर होइन, सरलीकृत गरेर समाधान दिन्छौं। हामीले बनाएका उपकरण, प्रणाली वा समाधानहरू तिनै हुन्, जसले गाउँघरको समस्या, शहरको व्यवहारिक अप्ठ्यारालाई हल गर्छ।
निष्कर्ष : समस्या समाधान गर्ने ईच्छाशक्तिमा इनोभेसनको शक्ति लुकेको छ
आज जब म २५ वर्षपछि फर्किएर हेर्छु, लाग्छ—हाम्रो ज्ञान औपचारिक थिएन, तर इच्छाशक्ति पक्का थियो। हामीले जुनसुकै समयमा सिक्यौं, प्रयास गर्यौं, गल्तिबाट सिक्यौं। यही नै नवप्रवर्तनको सार हो।
नेपालमा टेक्नोलोजीको साँचो प्रगति शिक्षा मात्र होइन, इच्छाशक्ति, प्रयोग र सामाजिक उत्तरदायित्वको संयोजनबाट सम्भव छ। इनोभेसनको जरा समस्याबाट सुरु हुन्छ, समाधानमै त्यसको फूल फुल्छ।
–हुलाक सञ्चारको चौथो वार्षिकोत्सवमा आयोजित हुलाक पथ ‘नेपाल आईटीः नवप्रवर्तन र अवसरहरुको भविष्य’ विषयको विचार विमर्शमा प्रस्तुत गरेको विचारको सम्पादित अंश