
काठमाडौं । यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियाविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै ४२१ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र ५ विकेटको क्षतिमा ४२० रन जोड्दै कीर्तिमानी स्कोर बनाएको हो ।
नेपालका लागि प्रशिद्ध जैशीले शानदार शतक प्रहार गर्दै ११४ बलमा १३ चौका र ३ छक्कासहित १३२ रन जोडे । त्यसैगरी परिमार्जन यादवले २८ बलमा ७१ रन, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन र जोय थापाले ४१ बलमा ५७ रनको योगदान दिए ।
सुगम बुढाथोकीले पनि ३४ बलमा ३९ रन जोड्दै स्कोरलाई थप बलियो बनाए भने रोशन शाहीले ९ बलमा १० रन जोडे । शिवान्स बजगाईँ ४ रनमा आउट भए ।
नेपालले पहिलो १० ओभरमै कुनै विकेट नगुमाई १३० रन जोड्दै बलरमाथि दवाब कायम गरेको थियो ।
नेपालको आक्रमक ब्याटिङपछि अब इन्डोनेसियाले यो विशाल लक्ष्य पछ्याउन पर्नेछ । नेपाललाई जित दिलाउन बलरहरूले पनि यही जुझारु खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।