मुख्यसचिव र अमेरिकी राजदूतबीच औपचारिक भेटघाट

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता भएको हो।

उनीहरूबिच नेपाल अमेरिका सम्बन्धका द्विपक्षीय सम्बन्धलगायत समसामयिक विषयमा छलफल भएको छ। भेटका क्रममा नेपालको अध्यागमन प्रणालीको सुदृढीकरण,अवैध आप्रवासनले निम्त्याएमा समस्याहरू, नेपालमा अमेरिकी लगानी एवं मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतका परियोजनामा अमेरिकी सहयोगको निरन्तरतालगायतका विषयमा छलफल भएको थियो।

मुख्यसचिव अर्यालले अमेरिकी सरकारबाट विगत सात दशकदेखि शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, यातायात, सञ्चार, कृषि, वन, ऊर्जालगायतका क्षेत्रमा प्राप्त सहयोगको प्रशंसा गर्दै एमसीसी परियोजनाका लागि अमेरिकी सरकारसँग भएको सम्झौताबमोजिमको वित्तीय स्रोत नेपालको सीमापार विद्युत् निर्यात, समग्र उत्पादकत्व र अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि महत्त्वपूर्ण रहेको विचार व्यक्त गरेका थिए। त्यसै गरी विपद् व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको क्षमता विकास र सो प्रयोजनका लागि लजिष्टिक सहयोग नेपालका लागि महत्त्वपूर्ण रहेको बताए।

अमेरिकी राजदूत थम्पसनले नेपालमा अमेरिकी लगानीकर्ताका लागि वातावरण थप सहज बनाउन अनुरोध गर्दै अध्यागमन व्यवस्थापनमा सुदृढीकरणको आवश्यकता औँल्याएका थिए। उनले एमसीसी परियोजनालाई निरन्तरता दिने विषयले सकारात्मक गति लिने अपेक्षा गरेको बताउँदै विपद् व्यवस्थापनका क्षेत्रमा सहयोगका थप क्षेत्रहरूमा समेत आगामी दिनमा पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा अमेरिकी राजदूतावासका तर्फबाट पब्लिक अफेयर्स प्रमुख माइकल हार्करलगायतका प्रतिनिधि एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाललगायतको उपस्थिति थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१