
नेपालमा पहिलोपटक सडकमार्ग (बाइ रोड) प्रयोग गरेर हेलिकप्टर आयात गरिएको छ। चीनबाट ल्याइएको उक्त हेलिकप्टर तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेको हो। भन्सार कार्यालय तातोपानीका प्रमुख अनिरुद्र थापाका अनुसार, माउन्टेन हेलिकप्टर्स कम्पनीले हेलिकप्टर चीनबाट खरिद गरी कन्टेनरमार्फत नेपाल ल्याएको हो।
‘हेलिकप्टर हिजो मात्रै हाम्रो सीमामा छिरेको हो,’ उनले बताए। अहिले हेलिकप्टर भन्सार प्रक्रियामा रहेको र प्रक्रिया पूरा भएपछि एक-दुई दिनभित्र काठमाडौं ल्याइने तयारी भइरहेको पनि उनले जानकारी दिए।
उक्त हेलिकप्टरको भन्सार मूल्य करिब चार करोड रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ। यद्यपि, भन्सार मूल्यको सटीक विवरण प्रज्ञापनपत्र हेरेपछि मात्रै थाहा हुने उनले बताए।
माउन्टेन हेलिकप्टर्सका प्रतिनिधि रामचन्द्र भुसालले यो पहिलो पटक सतहमार्गबाट नेपालमा हेलिकप्टर आयात गरिएको दाबी गरे। ‘हामीले आज भन्सार प्रक्रिया पुरा गर्दैछौं,’ उनले भने, ‘भन्सार शुल्क र अन्य विवरण चाँडै सार्वजनिक गर्छौं।’
उनका अनुसार यो एयरबस कम्पनीको हेलिकप्टर हो, जुन चीनको तियाजिन सहरस्थित प्लान्टबाट ल्याइएको हो। हेलिकप्टर पर्यटन प्रयोजनका लागि प्रयोग गरिनेछ।