इँटाभट्टामा काम गर्दै ४ GPA ल्याउने गोमालाई मीनबहादुरले एमबीबीएससम्मको पढाइ सहयोग गर्ने

काठमाडौँ । इँटाभट्टाको खलामा काम गर्दै एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मान पत्र दिएका छन्।

गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि गुरुङले आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन् । यसपछि एमबीबीएससम्मको अध्ययन खर्च समेत व्यहोर्ने वचन दिएका छन् ।

यसअघि पनि गुरुङले विभिन्न विकट जिल्लाका धेरै विद्यार्थीहरूलाई पाटन विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइरहेका छन् । त्यही सूचीमा गोमा पनि थपिएकी हुन् ।

गोमाले चाँगुनारायण नगरपालिका-८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै आएकी थिइन् । उनी बिहान बेलुका इँटा सुकाउने काम थिइन् । कामको साथमा स्कुल पनि पढिरहेकी गोमा ४ जिपिए ल्याएपछि चर्चामा आएकी थिइन् ।

उनले आफूलाई डाक्टर बन्ने चाहना भएको, तर आर्थिक अवस्था कमजोर रहेको समाचार बाहिरिएपछि गुरुङ दम्पतीले सहयोग गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१