
रसुवा । नेपाल–चीनको सिमानाको खोलामा गएराति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको हो । बाढीले ईभी गाडीको चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ ।
बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको छ । खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएको छ ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।
बाढीमा फसेका ९ जनाको उद्धार गरिएको छ । जिल्लाको गोसाइकुण्ड गाउँपालिका- २ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोलीले उद्धारगरी सुरक्षित स्थानमा राखेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यसैबीच, विहान ५:५५ बजे तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड पनि बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ । बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको प्रहरीले जनाएको छ ।