
जलेश्वर, महोत्तरी। आर्थिक वर्षको अन्त्यमा हुने (असारे विकास) को नाममा सरकारी कार्यालयभित्रै मदिरा पार्टी चल्ने गरेको र भुक्तानीका लागि व्यापक कमिसनको खेल हुने गरेको सूचनाको आधारमा पत्रकार दिवाकार साहले गरेको स्टिङ अपरेशनका क्रममा तनावपूर्ण स्थिति सिर्जना भयो। महोत्तरीको जलेश्वरस्थित भौतिक पूर्वाधार विकास कार्यालयमा मध्यरातमा गरिएको रिपोर्टिङको क्रममा कार्यालय प्रमुखको कार्यकक्षमा बियरका बोतलहरू, शंकास्पद कागजातहरू फेला परेका थिए भने पत्रकारमाथि नै हातपात र दुर्व्यवहार भएको थियो।
के थियो घटना ?
एचटीपी खबरका पत्रकार साह प्रहरीको सुरक्षासहित उक्त कार्यालयमा मध्यरातमा प्रवेश गरेका थिए। कार्यालयमा आर्थिक वर्षको अन्तिम समयमा भुक्तानीको चाप देखाउँदै कर्मचारी र सेवाग्राहीहरूको भीड लागेको थियो। रिपोर्टिङका क्रममा पत्रकारले कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गर्दा त्यहाँ सोफा र टेबलमा छरपस्ट अवस्थामा बियरका बोतलहरू फेला पारेका थिए। पत्रकारले सरकारी कार्यालयभित्र सरकारी वा जनताको करको पैसाले बियर पार्टी कसले गरिरहेको छ भनी प्रश्न उठाएका थिए।
यसका साथै उनले ४० लिटर डिजेलको शंकास्पद कुपन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सम्बोधन गरिएको एउटा खाली खाम समेत फेला पारे, जसले सरकारी सम्पत्तिको दुरुपयोग र भ्रष्टाचारतर्फ संकेत गरेको छ। कार्यालयमा जडान गरिएको सीसीटीभी क्यामेराले यी सबै गतिविधि कैद गरे–नगरेको विषयमा
पनि पत्रकारले प्रश्न उठाएका थिए।
तनाव र हातपातको अवस्था
जब पत्रकारले कार्यालयभित्रको विकृतिलाई पर्दाफास गर्न थाले, त्यहाँ उपस्थित केही व्यक्तिहरू आक्रोशित बने। सुरुमा एक महिला पत्रकारले रिपोर्टिङको शैली र नैतिकतामाथि प्रश्न उठाउँदै दिवाकर साहलाई रोक्न खोजिन्। त्यसपछि बाहिर निस्कने क्रममा सेवाग्राही भनिएका केही व्यक्तिहरूको समूहले पत्रकारलाई घेरा हाली धम्क्याउन थाले । कसले दियो अधिकार रातिमा छापा मार्ने ?, तिमी को हौ ?, तिमीलाई कति प्रतिशत चाहिन्छ ? भन्दै आक्रोशित समूहले पत्रकारको माइक खोस्ने र धकेल्ने प्रयास गरेको भिडियोमा देखिन्छ।
उनीहरूले पत्रकारलाई धम्की दिँदै आफ्नो ठेक्का र पैसा डुब्न लागेको भन्दै आक्रोश पोखेका थिए। प्रहरीको उपस्थितिमा पनि पत्रकारमाथि भएको यो दुर्व्यवहारले त्यहाँको अवस्था निकै तनावपूर्ण बनेको थियो।
असारे विकासको विकृति
यो घटनाले नेपालका सरकारी कार्यालयहरूमा आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा बजेट सक्नका लागि रातारात काम गर्ने र भुक्तानी दिने नाममा हुने गरेको भ्रष्टाचार र कमिसनको खेललाई उजागर गरेको छ। केही समयअघि सर्लाहीमा एक इन्जिनियरले एसपीलाई रातमा काम गर्नुपरेको भन्दै गाली गरेको अडियो सार्वजनिक भएको थियो। महोत्तरीको यो घटनाले पनि त्यस्तै प्रवृत्तिको पुनरावृत्ति भएको देखाउँछ, जहाँ कामभन्दा पनि कमिसन र भोजभतेरले प्राथमिकता पाएको देखिन्छ।
यो घटनाले सत्यतथ्य बाहिर ल्याउन खोज्दा पत्रकारहरूले भोग्नुपर्ने सुरक्षा चुनौतीलाई पनि स्पष्ट पारेको छ।