
काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले शुक्रबार चार जनाको बयान लिन सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दाकै सन्दर्भमा प्रतिवादी बनाइएका चार जनाले शुक्रबारका लागि विशेष अदालतमा उपस्थित हुने सूचना दिएका थिए । सोही अनुसार चार जनाको बयान सुरु भएको हो ।
विशेष अदालतका न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा उनीहरूको बयान सुरु भएको छ ।
विशेष अदालतमा भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव स्वर्गीय माधवप्रसाद घिमिरेकी पत्नी कमला घिमिरे, मालपोत कार्यालय काभ्रेका तत्कालीन नायब सुब्बा रामकाजी श्रेष्ठ, केदारनाथ भट्टराई र खरिदार मोनराम शर्माको बयान सुरु भएको हो ।
बयान सकिएपछि उनीहरूका सम्बन्धमा थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने या धरौटीमा रिहा गर्ने भन्ने निर्णय लिनेछ ।