२० वर्ष कटेपछि विवाह गर्नुस्, ३० पुग्दा तीन सन्तान पाइसक्नू : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका अभियानसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए मानव अस्तित्व नै संकटमा पर्न सक्ने भन्दै समयमै विवाह गरी सन्तान जन्माउनुपर्नेमा जोड दिएका छन्।

विश्व जनसङ्ख्या दिवसको अवसरमा बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले जनसङ्ख्या र विकासको गति सँगसँगै अगाडि बढ्नुपर्ने बताउँदै जनसङ्ख्या नहुँदो हो त देशको अस्तित्व नै नरहने धारणा व्यक्त गरे।

“मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ,” प्रधानमन्त्री ओलीले भने, “हामीले मानव जातिको सुखमय अस्तित्वका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ। सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अरू केही छैन।”

उनले हाल विकासशील र विकसित देशहरूमा समेत जनसङ्ख्या ऋणात्मक हुन थालेको उल्लेख गर्दै त्यसले मानव अस्तित्वमा नै खतरा उत्पन्न गरेको बताए। “जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार गरिन्छ, तर अर्कोतर्फ आम विनाशका हतियार बनाइन्छ। यो प्रवृत्तिले मानव संसार नै संकटमा पार्न सक्छ,” उनले भने।

प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि मात्र विवाह गर्न पाइने कानुनी व्यवस्था गरेकाले त्यसपछि ढिलो नगरी सन्तान जन्माउनुपर्नेमा पनि जोड दिए। “३० वर्ष पुग्नुअघि तीन सन्तान पाइसक्नुपर्छ भन्ने नीति हो। चालीस कटेपछि रमाउला भन्ने गीतमै नअल्झिनुस्,” उनले रमाइलो शैलीमा भने।

उनले पछिल्लो समय ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने जस्ता प्रचारप्रति पनि असन्तुष्टि जनाउँदै यसले उल्टै सन्तान नै नहुने अवस्था सिर्जना गरिरहेको उल्लेख गरे। उनले जनसङ्ख्याको सन्तुलित व्यवस्थापन गर्न ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार गम्भीर रहेको बताए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१