
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको बताएका छन् ।
झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटनको क्रममा ओलीले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको बताए ।
विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए । दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने पनि उनले घोषणा गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायत थिए ।