
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारका मन्त्रीहरू नै खुलेआम घुसको डिलमा मुछिनु अत्यन्तै लज्जास्पद भएको बताएका छन्। शनिबार सार्वजनिक भएको अडियोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी घुससम्बन्धी ‘डिल’मा संलग्न देखिएको दाबी गरिएको छ।
सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीकै मौन स्वीकृतिका कारण मन्त्रीहरूले यस्तो दुस्साहस गर्न सकेको आरोप लगाए। उनका अनुसार, ओली सरकारले विगत एक वर्षमा भ्रष्टाचारलाई संरक्षण मात्र गरेको छ, जुन सरकारको पूर्ण असफलताको प्रमाण हो।
“प्रधानमन्त्री आफैं ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’ भन्छन्, तर व्यवहारमा ठूला काण्डहरू ढाकछोप गरिरहेका छन्,” सापकोटाले रातोपाटीसँग भने, “इतिहासमै यति नाङ्गो तरिकाले मन्त्रीहरूले भ्रष्टाचारको डिल गरेका उदाहरण कमै छन्।”
उनले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले तयार पारेको कार्यसम्पादन मूल्याङ्कन झन् कमजोर बन्दै गएको उल्लेख गर्दै, ओली सरकारलाई १०० मध्ये १० अंक मात्र दिन सकिने टिप्पणी गरे। साथै, प्रधानमन्त्री ओलीसँग अब सरकारमा बसिरहने नैतिकता नरहेको पनि सापकोटाले बताएका छन्।