स्पेन कार्यक्रममा सहभागी भएर उतै बसेको घटनामा गृह मन्त्रालयले सुरु गर्‍यो छानबिन

काठमाडौँ । स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे गृह मन्त्रालयले दुई विषयमा केन्द्रित रहेर छानबिन सुरु गरेको छ ।

मन्त्रालय र त्यस मातहतका निकायले त्यो कार्यक्रममा को को गए ? कसरी गए ? ठगेर कसैले लग्यो कि स्वेच्छाले गए ? र कस्ता कागजात प्रयोग गरेर गए भन्ने विषयमा छानबिन सुरु गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे छानबिन सुरु गरिएको जानकारी दिए । ‘कार्यक्रममा को को गए ? कसरी गए ? ठगेर कसैले लग्यो कि स्वेच्छाले गए ? र कस्ता कागजात प्रयोग गरेर गए,’ प्रवक्ता तिवारीले   भने, ‘त्यो विषयमा हामीले छानबिन सुरु गरेका छौँ ।

’ यसबारे कसरी छानबिन गर्ने र केके विषयमा छानबिन गर्ने भन्नेबारे गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो मन्त्रालय सम्बद्ध अधिकारीहरूसँग बैठक गरेका थिए । मन्त्री लेखकले गृह सचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालसंग मन्त्री लेखकले बैठक गरेका हुन् ।

बैठकमा गृहमन्त्री लेखकले कार्यक्रममा कुन एनजीओ वा आईएनजीओले ती व्यक्तिहरूलाई स्पेन लैजान अनधिकृत रूपमा पैसा उठाएको हो भन्ने छानबिन गर्न निर्देशन दिएको प्रवक्ता तिवारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी बनाउने भनेर एनजीओ र आइएनजीओले पैसा उठाएर र केही व्यक्तिलाई लगेर उतै छोडेको विषयमा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रश्न उठाइरहेका छन् । यसबारे गृह मन्त्रालयले छानबिन सुरु गरेको हो ।

गृहमन्त्री लेखकले बोलाएको बैठकमा सहभागी अध्यागमन विभागका महानिर्देशक रिजालले घटनाबारे सत्य तथ्य छानबिन गर्न निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘बाहिर आएका कुरा के हुन् ? सत्य के भएको हो ? त्यसबारे सत्य तथ्य छानबिन गर्नुस् भनेर मन्त्रीज्यूले बैठकमा निर्देशन दिनुभयो,’ महानिर्देशक रिजालले रातोपाटीसँग भने ।

गृह प्रवक्ता तिवारीले यसबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन सुरु गरिसकेको जानकारी दिए । त्यसबारे पनि मन्त्री लेखकलाई प्रहरी महानिरीक्षक थापाले ब्रिफिङ गरेका थिए ।

मन्त्री लेखकले सोमबार बिहान गृह सचिव दवाडी र आईजीपी थापालाई बोलाएर यसबारे छानबिनका लागि निर्देशन दिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१