
काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तन गराएको र भविष्यको स्पष्ट खाका कोर्ने हिम्मत र दूरदृष्टि समेत आफूसँग मात्रै रहेको दाबी गरेका छन् ।
सोमबारको संसद बैठकलाई विशेष सम्बोधन गर्दै उनले गणतन्त्र, संविधान निर्माणदेखि ऊर्जा क्षेत्रमा हासिल उपलब्धिसम्मका विषयमा माओवादी नेतृत्वको योगदान स्मरण गराए ।
प्रचण्डले भने, ‘हामी इतिहास बनाएर आएका हौं र भविष्यको खाका कोर्ने हिम्मत र साहस पनि हामीसँग मात्रै छ । जनताको सपना पूरा गर्ने जिम्मेवारी पनि हामीले लिएका छौं । संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्दछ । उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन आवश्यक छ ।’
शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमांकन, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न दुईतिहाइ बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘यदि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी म लिन्छु ।’
उनले सत्तापक्षलाई जनताको धैर्यको सीमा नाघ्न नदिन सचेत गराउँदै चेतावनी दिदै भने, ‘तपाईंहरू अझै पनि संख्याको दम्भमा जे गरे पनि हुन्छ भन्ने सोचले कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ । यो बन्द हुनु पर्दछ, अन्यथा जनताको धैर्यको सीमा टुट्नेछ ।’