प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसकेकी छन् : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मानिस छोडिएको भन्ने आरोप निराधार भएको बताएका छन्। उनले उक्त आरोप लगाउने सांसदले संसदमै आत्मालोचना गरिसकेको समेत स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका सबै प्रतिनिधिहरू स्वदेश फर्किएको दाबी गरे। उनले भ्रमण टोली कसरी तय हुन्छ भन्नेबारे स्पष्ट प्रक्रिया तथा आचारसंहिता रहेको भन्दै अनावश्यक भ्रम नछरिन आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्री ओलीसँग गएका केही मानिसहरू स्पेनमै छोडिएको आरोप लगाएकी थिइन्। तर, भोलिपल्टकै बैठकमा उनले आफूले त्यस्तो भनाइ नगरेको स्पष्ट पारेकी थिइन्।

यद्यपि सरकारले प्रधानमन्त्री सहभागी कार्यक्रममा भिजिट भिसामा गएका केही व्यक्तिहरू नफर्किएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिसकेको छ। मन्त्री गुरुङका अनुसार संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन भनी सरकारी सूचिबाहिर गएका तर स्वदेश नफर्किएका व्यक्तिहरूको अवस्थाबारे पनि सरकारले छुट्टै अनुसन्धान गरिरहेको छ।

सरकारको दाबीअनुसार प्रधानमन्त्रीको नेतृत्वमा गएका सबै प्रतिनिधि फर्किसकेका छन्। मन्त्री गुरुङले सांसदले आफैँ आत्मालोचना गरिसकेको विषयलाई लिएर निराधार आरोप लगाउँदै भ्रम फैलाउनु अनुचित भएको टिप्पणी गरे।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१