
काठमाडौं । सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइनको सीआरजे २०० विमान दुर्घटनाको प्रमुख कारण पाइलटको लापरवाही र वायुसेवा कम्पनी (अपरेटर) को गम्भीर त्रुटि रहेको निष्कर्षमा दुर्घटना जाँच आयोग पुगेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको आयोगको अन्तिम प्रतिवेदनअनुसार गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ सि–चेकका लागि उडेको उक्त फेरी फ्लाइट टेकअफको क्रममा धावनमार्ग नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनीष शाक्य मात्र बाँचेका थिए।
पिच रेट बढी हुँदा ‘डीप स्टल’ भएर जहाज खस्यो
प्रतिवेदनमा प्राविधिक समस्याभन्दा पनि पाइलट त्रुटि मुख्य कारण भएको उल्लेख छ। टेकअफका क्रममा पाइलटले जहाजको अगाडिको भाग अत्यधिक माथि उचाल्दा ‘पिच रेट’ बढी भई जहाजको गति अचानक घटेको र त्यसले गर्दा जहाज ‘डीप स्टल’ मा पुगेको देखाइएको छ। ‘डीप स्टल’ भनेको अगाडिको भाग अत्यधिक उठ्दा पखेटामा हावाको प्रवाह ठप्प भई जहाजले उचाइ लिन नसक्ने अवस्था हो।
जहाज टेकअफ सुरु गरेपछि पाँच सेकेन्डमै जमिनको सतहबाट ५० फिट उचाइमा पुगेको थियो। तर, दाहिनेतिर ढल्किएर पखेटाले जमिन छोएको र त्यसपछि जहाज छिन्नभिन्न हुँदै आगलागी भएको प्रतिवेदनमा उल्लेख छ।
गलत स्पीडकार्ड, त्रुटिपूर्ण लोड व्यवस्थापन
जहाजको उडानका लागि बनाइएको स्पीडकार्डमै त्रुटि थियो। जहाजको तौल १८ हजार ५०० किलो भए पनि त्यसअनुसारको ‘भी–स्पीड’ गणना गरिएको थिएन। स्पीडकार्ड स्वयं अप्रमाणित ९अनअप्रुभ्ड० पाइएको र त्यो कसैले जाँच नगरेको आयोगले उल्लेख गरेको छ। आयोगका अनुसार सौर्य एयरलाइन्सले आफ्नो ऐतिहासिक सबै उडानमा यस्तै त्रुटिपूर्ण स्पीडकार्ड प्रयोग गरेको देखिएको छ।
उडानको समयमा ८.६ डिग्री प्रति सेकेन्डको असामान्य पिच दर देखिएको थियो।
त्यस्तै, जहाजमा लोड गरिएका उपकरण र सामग्रीको तौल नापिएको, क्याबिनभित्र राखिएको, सुरक्षित रुपमा स्ट्र्याप वा जालीले बाँधिएको नदेखिएको प्रतिवेदनमा जनाइएको छ। केही खतरनाक वस्तुहरू र उज्वलनशील तरल पदार्थसमेत जहाजमा फेला परेको छ।
फ्लाइटका लागि तयारीमा लापरवाही
उक्त उडान ‘फेरी फ्लाइट’ थियो, जुन जहाज मर्मतका लागि गरिन्छ। यस्ता उडानका लागि आवश्यक योजना, म्यानुअलअनुसार तयारी र सुरक्षा प्रोटोकल नअपनाएको आयोगले औंल्याएको छ। ग्राउन्ड ह्यान्डलिङ, अपरेसन म्यानुअल र कार्गो व्यवस्थापनसम्बन्धी मापदण्ड पनि उल्लङ्घन भएको उल्लेख छ।
दुर्घटनापछि प्रमाण संकलनमा पनि त्रुटि
दुर्घटनास्थलको सुरक्षामा समेत त्रुटि देखिएको आयोगको भनाइ छ। विमानस्थलको आपतकालीन गेट नखोलिँदा, छेउका निर्माण सामग्रीहरू अव्यवस्थित रहँदा उद्दारमा ढिलाइ भएको, दुर्घटनास्थलबाट सौर्य एयरलाइन्सको कार्यालयसम्म सामग्री ढुवानी गरेर प्रमाणमा छेडछाड गर्न सकिने अवस्था सिर्जना भएको आयोगको ठहर छ।