आयोगबाट रुपन्देही–३ उपनिर्वाचन कार्यक्रम पारित, अन्तिम उम्मेदवार सूची सार्वजनिक

काठमाडौँ । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत भएको छ । आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले निर्वाचनका कार्यक्रम स्वीकृत भएको जानकारी गराएकी हुन् ।

उनका अनुसार, असोज ११ गते बिहान १० बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । सो दिन बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम स्वीकृत भएको आयोगले जनाएको छ । सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने स्वीकृत कार्यक्रममा उल्लेख छ ।

उक्त सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २२ गते बिहान १० देखि ३ बजेसम्मका लागि तोकिएको छ । सोही दिन ३ बजेदेखि भोलिपल्ट ५ बजेसम्मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय हुने आयोगले जनाएको छ ।

त्यस्तै, असोज २३ गते बेलुकी ५ देखि ७ बजेसम्मा उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै, असोज २४ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारहरूले नाम फिर्ता लिन सक्नेछन् ।

सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका स्वीकृत भएको प्रवक्ता पोखरेलले बताइन् । दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने बताइएको छ । कात्तिक १७ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको ब्यहोरा जानकारी गराएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१