• २०८३ असार ३
  • 2026 June 17, Wednesday

शेखर कोरालासंग संसदीय दलमा ६० प्रतिशत बहुमत छ

शेखर कोइरालाले माओवादी अध्यक्ष तथा विपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि यो विवादले झन् नयाँ मोड लिएको छ। पार्टीभित्रकै स्रोतहरूका अनुसार यो भेटले ओली देउवा सहमतिलाई चुनौती दिने सम्भावना बढेको छ।

  • २०८२ साउन ४, आइतबार १९:२९

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षपछि प्रधानमन्त्री पद कांग्रेस सभापति शेरबहादुर देउवाले पाउने सहमति छ । तर, त्यो सहमति लागू हुनुअघि नै कांग्रेसभित्र शक्ति संघर्ष चर्किन थालेको छ। शेखर कोइराला पक्षका प्रभावशाली नेता सुनील शर्माले पार्टीलाई ‘प्राइभेट लिमिटेड कम्पनी’ बनाउने प्रयास अस्वीकार्य भएको भन्दै नेतृत्वलाई कडा चेतावनी दिएका छन्।

शर्माले हालै प्रष्ट पारे अनुसार कोइराला पक्षसँग संसदीय दलभित्र करिब ६० प्रतिशत बहुमत रहेको छ। यही शक्तिलाई भरपर्दा उनीहरूले अहिलेको सहमति उल्ट्याउन आवश्यक परे मन्त्रीहरू फिर्ता बोलाएरै नयाँ समीकरण बनाउन सक्ने संकेत गरेका छन्। खासगरी शेखर कोइरालाले माओवादी अध्यक्ष तथा विपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि यो विवादले झन् नयाँ मोड लिएको छ। पार्टीभित्रकै स्रोतहरूका अनुसार यो भेटले ओली देउवा सहमतिलाई चुनौती दिने सम्भावना बढेको छ।

शेखरलाई दबाउन खोजिएको आरोप
नेता शर्माले शेखर कोइरालालाई ‘स्वाभाविक प्रधानमन्त्री उम्मेदवार’ भन्दै तीन पुस्तादेखि कोइराला परिवारले नेपाली लोकतन्त्रका लागि गरेको बलिदानलाई स्मरण गराए। उनका अनुसार अहिले कोइराला लाइनलाई योजनाबद्ध रूपमा दबाउने प्रयास भइरहेको छ जुन सह्य नहुने उनको चेतावनी छ। पार्टीलाई निजी स्वार्थअनुसार सीमित नेताहरूले चलाउन खोजेको आरोप लगाउँदै उनले कांग्रेसभित्र ‘वास्तविक कांग्रेस’ को बहुमत शेखर पक्षमै रहेको दाबी गरे।

शर्माले प्रचण्डसँगको भेटको सन्दर्भ जोड्दै सत्ता समीकरण अब केवल ओली देउवा सहमतिमै सीमित नरहने संकेत गरेका छन्। उनका अनुसार यदि अहिलेको नेतृत्वले सुनुवाइ गरेन भने उनीहरूले विकल्प खोज्न बाध्य हुनेछन्।

सरकार र पार्टीभित्र खुला रूपमा हुने घुसखोरी र शक्तिशालीहरूको उन्मुक्तिको उनीहरूले कडा आलोचना गरेका छन्। शर्माले आफूले नै कम्पनी दर्ता नवीकरण गर्न यो पटक घुस खुवाउनु परेन तर आम जनताले सास्ती भोगिरहेका छन् भन्ने प्रश्न उठाए। उनको भनाइमा रिक्सा चालकदेखि ट्याक्सी चालकसम्मलाई फाइदा नपुग्ने राजनीतिको अर्थ छैन।

भित्रभित्रै शक्ति समीकरण बदल्ने तयारी भइरहे पनि शेखर समूहले यसको मुख्य उद्देश्य आम नागरिककै पक्षमा हुने स्पष्ट सन्देश दिन खोजेको देखिन्छ। छलफलहरू बिहानदेखि नै तीव्र रूपमा चलिरहेका छन् र चाँडै ठोस निर्णय सार्वजनिक हुने संकेत शर्माले दिएका छन्।

 

  • २०८२ साउन ४, आइतबार १९:२९