मानव तस्करी नियन्त्रण गर्न भर्खरै लोकसेवा पास गरेका ४५ अधिकृतलाई विमानस्थलमा खटाइयो

गृह मन्त्रालयले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी हालै तालिम लिएका ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटाएको छ। गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार अध्यागमन सुधार अभियान अन्तर्गत ती अधिकृतहरूलाई सोमबारदेखि कार्यस्थलमा पठाइएको हो।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार तीन दिने तालिमपछि ती अधिकारीहरूले सेवा सुरू गरेका हुन्। हाल अध्यागमन कार्यालयको नेतृत्व सहसचिव नरहरि घिमिरेले लिएका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।

यसअघि मन्त्रालयले विमानस्थलबाट ४५ अधिकृतलाई फिर्ता बोलाएको थियो भने अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नयाँ अधिकृतहरू खटाइएको बताइएको छ।

गृह मन्त्रालयका उपसचिव सुरेश जोशीका अनुसार दरबन्दीभन्दा बढी अधिकृत भएमा उनीहरूलाई पुनः अन्यत्र पठाइनेछ।

उल्लेखनीय छ, केही समयअघि अध्यागमन कर्मचारीकै मिलेमतोमा भिजिट भिसाका नाममा मानव तस्करी भएको आरोपमा अख्तियारले छापा मारेको थियो। सो घटनामा तत्कालीन प्रमुख तीर्थराज भट्टराई पक्राउ परेका थिए भने छानबिन अझै जारी छ। सोही सन्दर्भमा सरकारले पूर्वसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१