भ्रष्टाचार मुद्दामा मुछिएका वडाध्यक्ष चौधरीविरुद्ध नावालिका बलात्कारको अभियोग

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका ११ का निलम्बित वडाध्यक्ष अर्जुनकुमार चौधरीविरुद्ध बाल यौनदुरुपयोग कसुर सम्बन्धी मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा वडाध्यक्ष चौधरीविरुद्ध एक नाबालिकले जाहेरी दिएकी थिइन् । जाहेरी आधारमा प्रहरीले उनलाई साउन १ मा पक्राउ परेको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले वडाध्यक्ष चौधरीविरुद्ध साउन २ मा बाल यौनदुरुपयोग कसुर सम्बन्धी मुद्दा दर्ता भएको जानकारी दिए । उनले प्रहरी हिरासतमै रहेका वडाध्यक्ष चौधरीमाथि थप अनुसन्धान भइरहेको बताए ।

नागरिकता बनाउन गएको बेला घरमा बोलाएर शरीरका संवेदनशील अंग चलाउने र ‘गुड फ्राइडे’ मनाउन कतै टाढा जानका लागि वडाध्यक्ष चौधरीले करकाप गरेको भन्दै पीडित नाबालिकाले जाहेरी दिएकी छन् ।

शारीरिक सम्बन्ध नराखी नागरिकता दिलाउन नसकिने भनी धेरै समय झुलाउँदा आफ्ना कतिपय जरुरी काममा असर परेको पनि उनले उल्लेख गरेकी छन् ।

वडाध्यक्ष चौधरी घुस काण्डमा निलम्बित छन् । उनले एक सेवाग्राहीसँग ५० हजार रुपैया घुस लिएलगत्तै अख्तियारको टोलीले पक्राउ गरेको थियो ।वडाध्यक्ष चौधरी र वडा सचिव माधवकुमार रायविरूद्ध २०८० जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू ५० हजार रूपैयाँ घुस लिदालिँदै रंगेहात पक्राउ परेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१