
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अर्को एक कार्यकाल अध्यक्ष केपी शर्मा ओली नै दोहोरिनुपर्ने पक्षमा बोल्न केन्द्रीय सदस्यहरुबीच प्रतिस्पर्धा नै चलेको छ ।
विधान महाधिवेशन केन्द्रित बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले ओलीको निरन्तर नेतृत्वको वकालत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा रोक्नुपर्ने धारणा राखेका छन् । यस्तो आवाज केन्द्रीय सचिवालयमा भन्दा पोलिटब्युरो र त्यसभन्दा बढी केन्द्रीय कमिटीमा सुनिएको हो ।
६,७ जनाबाहेक कसैले पनि बोलेनन् । अब ३ सय जनाभन्दा बढीको केन्द्रीय कमिटीमा आउँदा त झनै त्यो आवाज कमजोर बनेर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बोल्न सदस्यहरुबीच प्रतिस्पर्धा पो चलेको देखियो ।
सोमवारको बैठकमा ४९ जना केन्द्रीय सदस्यले तीन तीन मिनेट बोलेका थिए । तीमध्ये ५ जना मात्र फरक सुनिए, अरु सबैले केपी ओलीको निरन्तरता,विधानमा प्रस्तावित विषय जस्ताको तस्तै पारित गर्ने र विद्या भण्डारीलाई रोक्नुपर्ने कुरा नै उठाए । ओलीले पनि यसपटक सबैका कुरा सुन्ने र केन्द्रीय कमिटीको आवाज कस्तो छ भनेर आफ्नो विकल्प खोज्ने नेताहरूलाई सुनाउन खोजेको देखिन्छ ।
सोमवारको बैठकमा रचना खड्का,इन्द्रलाल सापकोटा,रमेश पौडेल,अरविन्द सिंह र सीमा क्षेत्रीले मात्र अलिकति फरक ढंगले आफूलाई प्रस्तुत गरेका थिए । रचनाले विधान महाधिवेशन केन्द्रित बहस हुनुपर्नेमा नेतृत्वले अर्कै विषयमा छलफल गराएको भन्दै असन्तुष्टि जनाइन् । उनले विषयवस्तुमा प्रवेश नै गरिनन् ।
अरविन्द सिंहले नेतृत्वमाथि प्रश्न मात्र उठाए । इन्द्रलाल सापकोटा र रमेश पौडेलले विद्या भण्डारीको विषयलाई पनि नेतृत्वले समाधान गर्नुपर्ने भन्दै अरू सदस्यहरूको भन्दा केही पृथक् शैलीमा प्रस्तुति दिएका थिए । यद्यपि कसैले पनि केपी शर्मा ओलीको विकल्प अर्को नेतृत्व आउनुपर्छ भनेनन् । एमाले केन्द्रीय कमिटी बैठक आज समापन गर्ने तयारी छ । आज हिजोको भन्दो तेब्बर अर्थात् करिब डेढ सय केन्द्रीय सदस्यले बोल्दैछन् ।