काम गर्न नसक्ने मन्त्री फिर्ता बोलाउन देउवालाई वरिष्ठ नेताहरूको सुझाव

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएर राम्रो प्रदर्शन गर्न नसकेका मन्त्रीहरूलाई फिर्ता बोलाउन सुझाव दिएका छन्।

मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका पूर्व उपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले यो आग्रह गरेका हुन्।

भेटमा सहभागी वरिष्ठ नेता गोपालमान श्रेष्ठले सरकारमा कांग्रेस सहभागी भएको एक वर्ष पुगेको स्मरण गराउँदै अब मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्न समय आएको बताए। ‘सरकारमा गएका हाम्रा मन्त्रीहरूको कामप्रति असन्तुष्टि बढ्दो छ। सरकार समग्रमा प्रभावकारी बन्न सकेको छैन’, श्रेष्ठले भने।

उनले सभापति देउवालाई भने, ‘अब कार्यसम्पादन मूल्याङ्कन गरेर राम्रो गर्ने मन्त्रीलाई निरन्तरता दिऊँ, तर कमजोरी देखिएका, जनताको नजरमा असफल देखिएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय लिनुपर्छ।’

शिर्ष नेताहरूले देउवालाई सरकारको काम चुस्तदुरुस्त बनाउन अझै सक्रिय पहल गर्न पनि सुझाएका छन्। उनीहरूले पार्टी कार्यकर्तामाझ मात्र होइन, आगामी भदौबाट जनतामाझ पनि सकारात्मक सन्देश दिन सक्नेगरी वातावरण बनाउन आग्रह गरेका छन्।

पछिल्लो समय नेपाली कांग्रेसभित्र सरकारमा सहभागी मन्त्रीहरूको कामप्रति असन्तुष्टि र आलोचना बढ्दै गइरहेको छ। त्यही सन्दर्भमा वरिष्ठ नेताहरूले देउवालाई ‘साहसी निर्णय’ लिन दबाब दिइरहेका छन्।

अब सभापति देउवाले नेताहरूको सुझाव कति गम्भीरताका साथ लिन्छन् भन्ने कुराले कांग्रेसको छवि र आगामी रणनीतिमा महत्वपूर्ण असर पार्नेछ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१