
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उप–महासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्ने बताएका छन् ।
आज (मंगलबार) ४७औं पुष्पलाल स्मृतिमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तो संकल्प नेपालको राजनीतिक नेतृत्वमा नदेखिएको उनले बताए ।
साथै, उनले मनमोहन अधिकारीबाहेक सबै कम्युनिष्ट नेताहरुले असुली भन्दा गरेको उनको दाबी छ । उनले नेपालका कम्युष्टि नेताहरु विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको बताए ।
‘दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो आरोप होइन, यथार्थ हो,’– उनले भने । साथै, उनले पार्टीमा नेतृत्वको वरिपरी गोलबन्द हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने प्रवृत्तिको विकास भइरहेको बताए ।
नेतृत्वमा पनि जसले प्रशंसा र चाकडी गर्छ, उसैलाई आर्शिवाद दिने खालको प्रवृत्ति मौलाएको उनले बताए । साथै पार्टीमा जनवादी केन्द्रीयताको कुरा गरिराख्दा जनवाद समाप्त भइसकेको र केन्द्रीयतामात्रै बाँकी रहेको बताए । अहिले कम्युनिष्ट पार्टी फेरि सामन्ति झुण्डहरुजस्ता बन्न थालेको उनको आरोप छ ।