
काठमाडौँ । सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर आन्दोलन गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन्।
रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन्। छलफलमा सभामुख घिमिरेले भने, ‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारवाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ ।
सभामुखका रूपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु । मेरो ठाउँमा अरू कोही सभामुख भए पनि संसद् चलाउनुपर्ने बाध्यात्मक स्थिति छ । सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ ।’
हाउस निरन्तर अवरोध हुँदा विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न आग्रह गरे। उनले थपे, ‘संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईँहरूको सैद्धान्तिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ ।’
कानुनमन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरु गरेको बताए। उनले भने, ‘प्रमुख विपक्षी दलको सहमतिमा नै । सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ ।
एउटा सहमतिको बिन्दुमा पुग्न तपाईँहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ । ’रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुखले सहमतिका लागि निरन्तर पहल गरेको बताए।
उनले भने, ‘धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् । यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैर जिम्मेवारी देखाएको छ ।’
राप्रपा उपाध्यक्ष तामाङले पनि भिजिट भिसा प्रकरणमा उठाएको त्यसै नछाड्ने बताए। उनले भने, ‘विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । वैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसद्लाई जानकारी दिएको छैन ।’