
काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरू बन्नु नहुने बताएका छन् ।
बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पूर्व पर्यटन मन्त्री समेत रहेका भट्टराईले नेपालमा ५५ वटा विमानस्थलहरू रहेको र त्यसमध्ये सञ्चालनमा ३२ वटा मात्रै रहेको बताए ।
नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलको क्रममा भट्टराईले सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नभएको बताए ।
१९४९ सालमा पहिलो पटक हवाई सेवा सुरु गरेको नेपालमा अहिलेसम्म १०८ वटा दुर्घटना हुँदा ९५९ जना मानिसको ज्यान गएको उनले बताए । ‘यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् ।
जाँचबुझ आयोगले निर्क्योल गरेका दुर्घटनाहरूलाई कसरी न्यूनीकरण गर्ने, मानवीय त्रुटि, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या समाधान गर्ने यी ऐनहरू बनाइरहेका छौँ,’ उनले भने । अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाई विस्तार गर्न जरुरी रहेको भट्टराईले बताए ।
‘फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन । यो फेसन हो’ उनले भने, ‘राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन । यसले राष्ट्रको ठूलो क्षति हुन्छ । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ ।’ भट्टराईले अब थप विमानस्थल थप्ने भन्दा भएकाको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।