प्रभु साहको चुनौती प्रधानमन्त्रीलाई: ‘राम नेपालमा जन्मिएका हुन् भने मोदीसँग वार्ता गर्नुस्’

काठमाडौं । आम जनता पार्टी (अजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्टन्टको लागि हावादारी कुरा गरिरहेको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएका हुन् भनेर हावादारी कुरा गरेको बताएका हुन् । उनले राम नेपालमा जन्मिएका हुन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न उनले चुनौति दिए ।

सीता नेपालमा जन्मिएको भन्नेमा कुनै विवाद नरहेको अवस्था र सीतालाई राष्ट्रिय विभूति स्वीकार गरिएको अवस्था उनले स्मरण गराए । उनले प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा क्यालेण्डरमा सीता जयन्ती राख्नसमेत नमानेको बताउँदै अहिले राम नेपालमा जन्मिएको भनेर झुठको खेती गरिराखेको बताए ।

‘सुन्दैछु मिडियामा, उहाँ भारत जाँदै हुनुहुन्छ । यदि सत्यतथ्य हो भने उहाँले पूरातत्त्वविद् राखेर भारत सरकारसँग वार्ता गर्नुस्,’– उनले भने । साथै, प्रधानमन्त्रीजस्तो व्यक्तिले हावादारी कुरा गर्नु भएन भनेर उनले संसद्बाट रुलिङको मागसमेत गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१