
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तीन दिनमा दर्जनभन्दा धेरै कार्यक्रममा सहभागी हुने गृहजिल्ला रुपन्देही पुगेका छन् ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको तयारी भएसँगै जिल्लाका कार्यक्रममा चासो बढाउन थालेका हुन् । दुई दिनअघि मात्रै उनी त्यहाँ पुगेर फर्केका थिए ।
आज बिहान मात्रै रुपन्देही आएका उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय छात्रावास भवन शिलान्यास सकेर बौद्ध विश्वविद्यालय देवदह गुरुयोजना सार्वजनिकरण कार्यक्रममा सहभागी भएका छन् । यसपछि उनले बुटवलस्थित पार्टी कार्यालयमा नेकपा (एमाले) रुपन्देही नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
शुक्रवार नै अनेमसंघ बुटवल ११ले आयोजना गरेको तिज मिलन कार्यक्रममा सहभागी हुने, तिलोत्तमा नगरपालिका वडा नं ३, ४ र ६ अन्तरगत चालु र नयाँ योजनाहरूको अवलोकन गर्ने र रोट्याक्ट क्लब अफ बुटवल साउथ पदस्थापन कार्यक्रममा सम्बोधन गर्नेछन् ।
त्यसैगरी साउन १० गते शनिवार कपन नवदुर्गा खानेपानीको पद हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्ने, बुटवल उपमहानगरपालिका अन्तरगत तामनगर, नयाँगाउँ, बेलबास, सेमलार, मोतिपुर, नहरपुर, मजुवा, मैनावगर, पुरानो बुटवलमा रहेका चालु र नयाँ योजनाहरूको अवलोकन गरेपछि यहाँको उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने तय भएको छ ।
साउन ११ गते आइतबार सुन्दरनगर, तिनाउ टोल पवित्रनगर, माझगाउ, हात्तिसुद्ध रंगशाला मार्ग, देविपथ एन्फा एकेडेमी, देवस्थल मन्दिर, हरियाली पथ, रामनगर, शिवनगर क्षेत्रमा पदयात्रापछि सैनामैना नगरपालिका अन्तरगत रहेका चालू र नयाँ योजनाहरूको स्थलगत अवलोकन र तिलोत्तमा नगरपालिका अन्तर्गतका चालू र नयाँ योजनाहरूको स्थलगत अवलोकनपछि काठमाडौँ फर्कने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।