
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले डिल्लिबजार कारागारबाट एक लामो अपिल सार्वजनिक गर्दै देशको वर्तमान अवस्थाप्रति चिन्ता र आक्रोश व्यक्त गरेका छन्। कारागारबाट लेखिएको अपिलमा उनले आफ्नो सामाजिक– सांस्कृतिक अभियान, व्यक्तिगत पीडा, राजनीतिक दर्शन र न्याय प्रणालीप्रतिको असन्तुष्टि समेटेका छन्।
प्रसाईंले चैत्र १५ मा काठमाडौंको तिनकुनेमा आयोजित आन्दोलनकै कारण आफू जेल परेका भनी सर्वसाधारणमा फैलिएको धारणा असत्य भएको दाबी गरेका छन्। ‘मैले आन्दोलन स्थलमा पुग्न नपाउँदै प्रहरीले अश्रुग्यास र गोली चलाइसकेको थियो। मेरो गाडीमै अश्रुग्यास खस्यो, गोली मेरै अगाडि बाटो काट्दै गयो ।’ उनले लेखेका छन्।
उनका अनुसार उनले आन्दोलनलाई शान्तिपूर्ण राख्न अपिलमात्रै गरेका थिए। तर सरकार र सुरक्षायन्त्रले आन्दोलनलाई ‘दमन गर्न पूर्वनियोजित योजना’ अनुसार काम गरेको आरोप लगाएका छन्।
प्रसाईंले आफ्नो जीवन व्यवसाय र सेवामा बिताउने लक्ष्य बनाएको तर समाजको पीडाले आफूलाई ‘राजनीतिक अभियानी’ बनाएको बताएका छन्। ‘म मेरो अस्पतालमा बिरामी मुस्कानसाथ फर्किँदा पाउने सन्तोषमा रमाइरहेको थिएँ ।’ उनले लेखेका छन्। ‘तर एकदिन झापामा एउटै रुखमा झुण्डिएका तीन बहिनीको आत्महत्या देखेपछि म बदलिन थालेँ।’
लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गरेका ती महिला, संसद भवन अगाडि आत्मदाह गरेका व्यवसायी प्रेम आचार्य, वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूका लासहरू, खाडीमा बेचिएका नेपाली युवतीहरू — यिनै घटनाहरूले आफूलाई आन्दोलनमा होमिन प्रेरित गरेको दाबी गरेका छन्।
‘म पहिलो पटक प्रेम आचार्यको सुसाइड नोट पढेर ढोका थुनेर रोएको हुँ ,’ उनले लेखेका छन्।
उनले धर्मनिरपेक्षता र गणतन्त्रको आलोचना गर्दै नेपाललाई ‘सनातन धर्म सापेक्ष राष्ट्र’ र ‘राजतन्त्रात्मक व्यवस्था’ सहितको मुलुकमा फर्काउनुपर्ने बताएका छन्। ‘जसरी अल्झिएको धागो फुकाउन गाँठोमै पुग्नुपर्छ, त्यसरी नै नेपाललाई फेरी २०४६ सालकै संविधानमा फर्काउनु जरुरी छ ।’ प्रसाईंको अपिलमा भनिएको छ।
दुर्गा प्रसाईंको अपिलको एक महत्वपूर्ण अंशमा लघुवित्त प्रणाली र देशमा मौलाएको आर्थिक अन्यायमाथि तीव्र आलोचना गरिएको छ। ‘१० प्रतिशतमा कागजमा हस्ताक्षर गराएर १८ प्रतिशत व्याज असुल्ने ? के यस्तो व्यवस्था ठीक छ ?” उनी प्रश्न गर्छन्।
उनले नेपालमा बैंकदेखि अस्पताल, ब्रोकरदेखि उद्योग सबै केही सीमित तस्कर दलालहरूको कब्जामा रहेको आरोप लगाएका छन्। ‘मैले झुट बोलेको हो र ?’ भन्दै उनले आफ्नो अभियानको औचित्य प्रष्ट्याएका छन्।
सार्वजनिक चासोको विषय बनेको प्रसाईंको बैंक ऋणसम्बन्धी प्रश्नमा पनि उनले स्पष्ट जवाफ दिएका छन्। ‘मैले बैंकमा मेरो सम्पत्ति धितो राखेर लिएको ऋण हो। अस्पताल, स्कुल सञ्चालनमा छन्, पाँचतारे होटल निर्माणाधीन छ,’ उनले लेखेका छन्। ‘म जेलमा छुँ, तर नियमित किस्ता बुझाइरहेको छु। राज्य मलाई सक्काउन खोजिरहेको भए मलाई कालोसूचिमा राख्ने थिएन र ?’
उनले आफ्नो नातिले ‘हजुरबुबा कहिले आउनुहुन्छ ?’ भनेर सोध्ने गरेको उल्लेख गर्दै लेखेका छन्, ‘फोटो हेरेर मलाई सम्झिरहन्छ रे, मन भक्कानिन्छ। तर म भन्छु – म हजारपटक मर्न तयार छु, तपाईंहरूले स्वर्गानुभूति गरिरहनुहोस्।’
प्रसाईंको अभियानबाट लघुवित्तको पीडामा रहेका कैयौं चेलीले आत्महत्या नगरी बाँच्ने हिम्मत पाएको उनले दाबी गरेका छन्। ‘ती चेलीहरू आज अभियानको नेतृत्व तहमा छन् ।’ अपिलमा भनिएको छ।
साथै उनले आर्थिक पीडामा परेकालाई उपचारको व्यवस्था झापाको बीएण्डसी अस्पतालमा आफूले गरिदिने र अभियानका साथीहरूले सक्दो सहयोग गर्नुपर्ने आग्रह गरेका छन्।
‘स्वर्ग जान सबै चाहन्छन् तर मर्न कोही चाहँदैन’ उनको अपिलमा उल्लेख गरिएको अन्तिम लाइनमा लेखिएको छ । ‘सबै स्वर्ग जान चाहन्छन् तर मर्न डराउँछन्। म स्वर्गानुभूति गरिरहनुहुने तपाईंका लागि म हजारपटक मर्न तयार छु।’
अपिल हेर्नुहोस्