
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण तिरिरहेको स्पष्ट पारेका छन् । डिल्लीबजार कारागारबाट सात पेजको अपिल सार्वजनिक गर्दै उनले भनेका छन् ‘मैले मेरो र मेरो परिवारका लागि मात्र होइन, समाजका लागि पनि केही गर्नुपर्छ भनेरै देशका बेथितीका विरुद्ध आफ्नो सर्वस्व दाउमा राखेर आवाज बुलन्द पारेको हुँ।’
उनले थप लेखेका छन्, ‘१० प्रतिशतमा हस्ताक्षर गराएर आफुखुशी बैंकले १८ प्रतिशत व्याज असुल गर्दैनथ्यो र ? गाउँगाउँका सोझा आमादिदिबहिनी बैंक लघुवित्तबाट पिडित भएर दिनभर जंगल, मध्यरात बल्ल घर फर्किनुपर्ने अवस्था थिएन र ?’
प्रसाईंले देशमा सिमित तस्कर दलालको दादागिरीलाई उल्लेख गर्दै भनेका छन्, “बैंक, अस्पताल, रेटिंग कम्पनी, ब्रोकर कम्पनी, उद्योग, खानी सबै उनिहरुकै हातमा छन्, मैले जनतालाई झुट बोलेको थिएँ ? नेपालमा पश्चिमा संस्कृतिले जरो गाड्दा हाम्रो अस्तित्व नामेट हुँदैछ भनेर मैले गलत बोलेको थिएँ ?”
उनले आफ्नो स्थिति स्पष्ट पार्दै भन्छन्, ‘तपाईंहरु मध्ये आज पनि कोहीले भन्छन् आफुले बैंकको लोन तिर्नु पर्दैन भनेर, फेरीपनि स्पष्ट पार्न चाहन्छु, बैंकमा मैले मेरो सम्पत्ती धितो राखेर लोन लिएको छु। अस्पताल र स्कुल संचालन गरिरहेको छु, पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ। म कारागारमा छु तर पनि नियमित बैंकको किस्ता बुझाइरहेको छु। नत्र राज्यसत्ताले मलाई कालोसूचिमा राख्दैनथ्यो होला।’
दुर्गा प्रसाईंले आफू देशमा स्थायित्व र शान्ति चाहने मान्छे भएको बताउँदै भनेका छन्, ‘म गरी खान रुचाउने मान्छे हुँ, आज हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ। स्थायित्व होस् भनेर कम्युनिष्ट पार्टी एक गराउने पहल नगरेको छैन। मैले मेरा लागि कम देशका लागि धेरै सोचिरहेको छु, आज पनि।’