काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे अनौठो ‘सत्याग्रह’

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले राजधानी काठमाडौंमै अनौठो शैलीमा सत्याग्रह सुरु गरेका छन्। संघीय ऐनले स्थानीय कच्चा पदार्थ प्रयोगमा अवरोध पुर्‍याएको भन्दै उनले यसको संशोधनको मागसहित माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन थालेका हुन्।

सादा सेतो कपडा, मुण्डन गरिएको टाउको र परालको गुन्द्रीमा कम्बल ओछ्याएर बसेका मेयर भट्टराईको सत्याग्रह दृश्यले माइतीघरको वातावरण फरक बनाएको छ। छेउमै बाँसका भाटा राखिएका छन्, जसले उनको सत्याग्रहलाई ग्रामीण संस्कृतिसँग जोड्ने प्रतीकात्मक सन्देश दिन्छ।

उनले बोकेका प्लेकार्डहरूमा लेखिएका नाराहरू झनै अर्थपूर्ण छन्—

  • “पैसा छैन, नीति देउ; आत्मनिर्भर समाज बनाऔं।”

  • “प्रकृतिको विनाश होइन, संरक्षण गरौं।”

  • “जलवायु परिवर्तनको असर, खोला–खोल्सी अनियन्त्रित क्रसर।”

  • “प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं।”

शुरुआतमा सिंहदरबारको दक्षिण गेट अगाडि सत्याग्रह बस्ने उनको योजना थियो। तर, त्यहाँ निषेधित क्षेत्र तोकिएकाले उनले माइतीघर मण्डलालाई सत्याग्रहको केन्द्र बनाएका हुन्। सत्याग्रहमा स्थानीय अगुवा र केही जनप्रतिनिधिहरूको पनि साथ रहेको छ।

मेयर भट्टराईको माग स्पष्ट छ— स्थानीय तहले आफ्नै कच्चा पदार्थ सहजै प्रयोग गर्न पाउनुपर्छ, त्यसका लागि संघीय ऐन संशोधन गरिनुपर्छ। स्थानीय विकासमा आत्मनिर्भरता र प्राकृतिक स्रोत–साधनको संरक्षणमा केन्द्रित उनको अभियान अब राजधानीको चिसो सडकबाट उठेर सरकारको कानमा पुग्नेछ कि भन्ने उत्सुकता बढेको छ।

सत्याग्रहले अब राजनीतिक र नीतिगत तहमा कत्तिको प्रभाव पार्छ? हेर्न बाँकी नै छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१