
काठमाडौं । वाईसीएल नेपालले रसायनिक मलको चरम अभावका कारण किसानहरू खेती गर्नबाट बञ्चित भएको भन्दै कृषि सामाग्री केन्द्र लिमिटेडका प्रबन्धक सञ्चालक विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।
सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, भित्र भित्रै कमिसनको चक्करमा दलाल तथा विचौलियाहरु मार्फत कालाबजारी गर्ने जस्ता गम्भीर प्रकृतिको समस्याले लाखौं किसानहरु आक्रान्त भएको भन्दै वाइसीएलका अध्यक्ष पुष्प ओलीसहितको टोलीले आइतबार प्रबन्ध सञ्चालक पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
देशभरिका कृषकहरू अहिले गम्भीर समस्याको सामना गरिरहेको उल्लेख गर्दै मध्य वर्षायाम सुरु भइसक्दा समेत रसायनिक मलको चरम अभावका कारण किसानहरू खेती गर्नबाट बञ्चित भएको बताएका छन् ।
सरकारले दिएको पटक-पटकको आश्वासनपछि पनि मल आपूर्ति सहज र सरल नभएको बताउँदै योजनाबद्ध रहेको आरोप लगाएको छ ।ज्ञापनपत्रमा भनिएको छ,‘ किसानहरूले मल नपाएर खेत बाँझो राख्नुपर्ने अवस्था सिर्जना भएको छ जसको कारण राष्ट्रिय आत्मनिर्भरता र खाद्य सुरक्षामाथी प्रहार गरेको छ ।
’सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, भित्र भित्रै कमिसनको चक्करमा दलाल तथा विचौलियाहरु मार्फत कालाबजारी गर्ने जस्ता गम्भीर प्रकृतिको समस्याले लाखौं किसानहरु आक्रान्त रहको भन्दै वाइसीएलले भर्सना गरेको छ ।
यस्तो कार्य अविलम्ब रोकी रसायनिक मल आपुर्ती सुचारु गर्न र वितरण प्रणाली न्यायोचित गर्न माग गरेको छ । कृषि प्रधान देशको कृषि बालीलाई अत्यावश्यक पर्ने रसायनिक मलको अभाव विगत लामो समय देखि आएको र सधैं रहने समस्याबाट दिर्घकालिन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
तुरुन्तै देशभर मल आपूर्ति सुनिश्चित गरिएन भने वाइसिएलआफ्नो अभियानलाई देशव्यापी बनाउनेछ र आन्दोलनको रूप दिने सरकारलाई चेतावनी दिएको छ ।