सगरमाथा आरोहण गर्ने महिलाको संख्या ७०४ मा पुग्यो

काठमाडौँ । सगरमाथा चुचुरोको सफल आरोहण गर्ने महिला आरोही संख्या ७ सय ४ पुगेको छ ।

पर्यटन विभागले सन् २०२४ अन्तिमसम्मको सगरमाथा र अन्य हिमालको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार सगरमाथा चुचुरो पुग्ने महिला आरोही संख्या ७ सय ४ पुगेको हो ।

सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही जापानकी जुनको ताबेई हुन् । उनले सन् १९७५ मा यो कीर्तिमान बनाएकी थिइन् । नेपालबाट पहिलो आरोहण गर्ने महिला पासाङल्हामु शेर्पा हुन् । उनले सन् १९९३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरी फर्कने क्रममा उनको निधन भएको थियो ।

७०४औँ महिला भारतकी रिना देवी हुन् । उनले मे २०२४ मा सगरमाथा चढेकी थिइन् । यो सूचीमा सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा चढेकाको विवरण भने समावेश छैन ।

सगरमाथा आरोहण सुरुवात भने तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मा सफल आरोहण गरेसँगै सुरु भएको थियो । त्यसयता सगरमाथा चुचुरोमा पाइला टेक्ने कुल आरोही संख्या भने ९ हजार ७७ पुगेको छ । यस सूचीमा २०२५ को वसन्त ऋतुमा भएको आरोहण समावेश छैन ।

विभागका अनुसार सन् २०१० यता २ हजार ६ यस ७८ आरोही र ३ हजार ६ सय ९१ जना सहयोगी स्टाफले चुचुरो चुमेको देखिन्छ । यसमध्ये २०२४ मा मात्र आरोही २ सय ९८ जना र सहयोगी ४ सय ९४ जनाले चुचुरो चुमेको रेकर्ड छ । २०२४ मा सबैभन्दा धेरै नेपाली ४ सय ९४ जना चुचुरो पुगेका थिए । चिनियाँ ५४, अमेरिकी ४६ र बेलायती २६ जनाले सगरमाथा चढेको देखिन्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१