बोरिङ बढेपछि विद्युत आपूर्तिको स्थलगत जानकारी लिन जनकपुर जाँदै शाक्य

काठमाडौँ। सरकारले सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न जिल्लामा तत्कालै ५०० बोरिङ खन्ने निर्णय गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आजै जनकपुर जाने भएका छन् ।

चितवनको विद्युत आपूर्तिको अवस्था बुझ्न चितवन आएका शाक्य आज नै जनकपुर जाने र भोलि (मंगलबार) मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालय प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

भरतपुरमा बिहान पत्रकारसँग कुराकानी गर्दै प्राधिकरण कार्यकारी निर्देशक शाक्यले सरकारले सुख्खाग्रस्त मधेशमा बोरिङ गाड्ने घोषणा गरेपछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भने आफैँ फिल्डमा खट्न लागेको बताए ।

मधेश प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका प्राधिकरणको जिल्ला नेतृत्वसँग बोरिङ खन्ने ठाउँमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५०० डीप बोरिङ जडान गर्ने घोषणा गरेका थिए ।५०० वटा डीप बोरिङका लागि कम्तीमा पनि थप १० मेगावाट विद्युत आवश्यक पर्ने भएकोले त्यसको व्यवस्था मिलाउनु पर्ने शाक्यले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१