
जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
कटैयाचौरी भन्ने स्थानमा भएको घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुर निवासी दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटना क्रममा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति खुकुरी प्रहार गरी तीनै जनालाई आक्रमण गरेका हुन्। उनीहरू सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्दै आएका थिए।
खुकुरी प्रहारबाट आशाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र हातमा गम्भीर चोट पुगेको छ। अञ्चली जनकपुरमा आमासँगै डेरामा बसेर अध्ययन गर्दै थिइन्।
हत्या आरोपित रामबाबु साह यसअघि आफ्नै श्रीमतीको हत्या आरोपमा पाँच वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटनाबारे अनुसन्धान जारी छ र साहको खोजी भइरहेको छ।