प्रचण्ड–माधव पार्टी एकताको सम्भावना, संकट टार्नको लागि छलफल भइरहेको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पछिल्लो समय लगातार भेटवार्तामा जुटेका छन् । गत साताबाट सघन छलफलमा जुटेका दुई नेताले हिजो (सोमबार) भने सिंहदरबारमा रहेको माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता गरेका थिए ।

भेटमा दुवै दलका अरु नेताहरुको पनि सहभागिता थियो । हिजोको भेटपछि दुई नेताले पार्टी एकताको विषयमा गृहकार्य गरेको कुरा बाहिरिएको छ । अहिले दुवै नेताले पार्टीभित्र संकट व्यहोरिरहेका छन् । माधव नेपाल भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । उनलाई तत्काल नेतृत्व छाड्न दबाब बढेको छ । पार्टीकै नेताहरुले उनलाई लगातार प्रहार गरिरहेका छन् ।

नेतृ रामकुमारी झाँक्रीले त अब मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी छिन् । उनको अभिव्यक्ति पार्टीभित्र बहसको विषयसमेत बनेको छ । उनलाई पार्टीले स्पष्टीकरणसमेत सोधेको थियो । तर, झाँक्री आफ्नो अभिव्यक्तिबाट दायाँबायाँ भएकी छैनन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि माधव नेपालले तत्काल नेतृत्वबाट राजीनामा दिनुपर्ने मत राखेका छन् ।

भ्रष्टाचारको मुद्दा लागेको कारण स्वयम नेपाल र नेपालपक्षधर नेताहरुले उनको खुलेर रक्षा गर्ने अवस्था छैन । त्यही भएर नेपाल अहिले पार्टीभित्रै संकटमा छन् । उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पार्टीभित्र आन्तरिक कहल चुलिएको कारण टेन्शनमा रहेको चर्चा छ । उपमहासचिव जनार्दन शर्माले उनलाई सार्वजनिक रुपमै च्यालेञ्ज गरेका छन् ।

कम्युनिष्ट नेताहरुबाट प्रधानमन्त्री बनेकाहरुमध्ये मनमोहन अधिकारीबाहेक सबैले असुली धन्दा चलाएको र भ्रष्टाचार गरेको भनेर जनार्दनले बोलेपछि प्रचण्ड उनीसँग नराम्रोसँग बिच्किएका छन् । अहिले माओवादीमा प्रचण्ड भर्सेस जनार्दन गरेर सामाजिक सञ्जालमा नै बहस छताछुल्ल भएको छ । जनार्दनले पनि हिजो आफूअनुकुल व्याख्या नगर्न आग्रह गरेका छन् ।

यही सन्दर्भमा प्रचण्ड र माधव नेपालले भेटवार्ता बढाएका छन् । उनीहरुले समाजवादी मोर्चाको कार्यक्रम र रणनीति तय गर्न भेटवार्ता भएको भनेपनि भित्री रुपमा दुई दलबीच एकता नै मुख्य उद्देश्य रहेको खुल्न आएको छ । दुवै नेता अहिले संकटमा भएकोले त्यो संकट टार्नको लागि पनि एकता गरिहाल्नुपर्ने पक्षमा रहेको उच्चस्रोतको दाबी छ । तर, एकता गर्दा एकीकृत समाजवादीको ठूलो पँक्ति एमालेमा नै फर्किने बाटो बन्ने भएकोले नेपालले निर्णय दिन नसकेको पनि चर्चा छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१